काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत पाँच जना सदस्य नियुक्त भएका छन्। पर्यटन क्षेत्रमा निजी क्षेत्रको सहभागिता, नीति निर्माण र गन्तव्य प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले मंगलबार खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा. शोभिता श्रेष्ठ ढकाललाई बोर्ड सदस्यमा नियुक्त गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन ऐन तथा प्रचलित कानुनी व्यवस्थाअनुसार गठित बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कनपछि उनीहरूलाई छनोट गरेको हो।
छनोट प्रक्रियामा आवेदकको शैक्षिक योग्यता, पर्यटन क्षेत्रमा गरेको योगदान, व्यावसायिक अनुभव, नेतृत्व क्षमता र समग्र दक्षतालाई मुख्य आधार बनाइएको मन्त्रालयले जनाएको छ। खुला प्रतिस्पर्धाबाट सदस्य चयन गरिएको यो प्रक्रिया पर्यटन क्षेत्रमा पारदर्शिता र योग्यता प्रणालीलाई संस्थागत गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।
नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले पर्यटन प्रवर्द्धनसम्बन्धी नीति निर्माण, वार्षिक कार्यक्रम तथा बजेट अनुमोदन, अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन रणनीति तय गर्ने, नयाँ पर्यटकीय गन्तव्यको विकास तथा निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्छ। साथै पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्ने, सेवा–सुविधाको गुणस्तर सुधार गर्ने र दिगो पर्यटनलाई प्रोत्साहन गर्ने विषयमा पनि बोर्डले मार्गनिर्देशन गर्ने भूमिका निर्वाह गर्छ।
नवनियुक्त सदस्यहरूले पर्यटन क्षेत्रका विविध अनुभव, सहभागिताले पर्यटन व्यवसायी, स्थानीय तह र सरकारी निकायबीच समन्वय बढाउँदै पर्यटन नीतिलाई व्यवहारिक र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
मन्त्रालयका अनुसार आगामी दिनमा बोर्डले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनलाई थप आक्रामक बनाउने, उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्ने, नयाँ गन्तव्यको ब्रान्डिङ, डिजिटल प्रचार–प्रसार विस्तार, धार्मिक, साहसिक तथा ग्रामीण पर्यटनको विकास, निजी क्षेत्रसँगको साझेदारी सुदृढ गर्ने र पर्यटन पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने दिशामा काम गर्नेछ।
पर्यटन बोर्डले नवनियुक्त सदस्यहरूको अनुभव, विज्ञता र नेतृत्वले नेपालको पर्यटन क्षेत्रलाई प्रतिस्पर्धी, दिगो र अन्तर्राष्ट्रिय रूपमा थप आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेको छ।



























