काठमाडौं । नेपालको पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन र व्यावसायिक विस्तारमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय खुम बहादुर सुबेदी पर्यटन क्षेत्रका अनुभवी विज्ञ, सफल पर्यटन उद्यमी, साहित्यकार तथा राष्ट्रिय विभूषणबाट सम्मानित व्यक्तित्वका रूपमा परिचित छन्।
वि.सं. २०२९ सालमा धादिङ जिल्लाको सुनखानीमा जन्मिएका सुबेदीले काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट प्रमुख अंग्रेजी तथा राजनीतिशास्त्रमा उच्च शिक्षा हासिल गरेका हुन्। अध्ययनपछि पर्यटन क्षेत्रमा प्रवेश गरेका उनले सन् १९९६ मा ट्रेकिङ गाइडका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए।
गाइडका रूपमा सुरु भएको उनको पर्यटन यात्रा अहिले तीन दशकभन्दा लामो समय पार गरिसकेको छ। यस अवधिमा उनले नेपालको साहसिक, हिमाली तथा सांस्कृतिक पर्यटनको विकास र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनका लागि विभिन्न भूमिकामा काम गर्दै आएका छन्।
सुबेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रालिका संस्थापक तथा प्रबन्ध निर्देशक हुन्। पर्यटन व्यवसायसँगै उनले पर्यटन क्षेत्रका नीतिगत तथा संस्थागत विषयमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
सन् २०१९ देखि २०२२ सम्म ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षका रूपमा उनले नेतृत्व गरेका थिए। टानको नेतृत्वमा रहँदा उनले नेपालको पर्वतीय तथा साहसिक पर्यटनलाई थप व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने विषयमा जोड दिएका थिए।
पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थामा समेत उनले जिम्मेवारी निर्वाह गरेका छन्। उनी नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम)को बोर्ड सदस्य तथा नेपाल माउन्टेन एकेडेमीको पदेन सञ्चालक समिति सदस्यका रूपमा समेत आबद्ध थिए।
नेपालको पर्यटनलाई विश्व बजारमा स्थापित गर्न निजी क्षेत्र, सरकारी निकाय र पर्यटनसम्बद्ध संस्थाबीच सहकार्य आवश्यक रहेको उनको धारणा रहँदै आएको छ। पर्यटन व्यवसायलाई केवल आर्थिक गतिविधिका रूपमा मात्र नभई रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विस्तार र नेपालको पहिचान विश्वमाझ पुर्याउने माध्यमका रूपमा उनले हेर्दै आएका छन्।
पर्यटन व्यवसायसँगै सुबेदी साहित्य सिर्जनामा पनि सक्रिय छन्। उनका ‘पदयात्राका पाइलाहरू’ र ‘बेल्जियमका क्षणहरू’ लगायतका यात्रा कृति प्रकाशित छन्। यात्राका अनुभव, पर्यटनसँग जोडिएका विषय तथा विभिन्न भूगोल र संस्कृतिलाई साहित्यका माध्यमबाट प्रस्तुत गर्दै उनले पर्यटन र साहित्यबीचको सम्बन्धलाई समेत फराकिलो बनाएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन, सञ्चार माध्यम र विभिन्न सार्वजनिक मञ्चमार्फत उनले नेपालको पर्यटन सम्भावना, चुनौती र विकासका विषयमा निरन्तर आफ्नो धारणा राख्दै आएका छन्। विशेषगरी नेपालको हिमाली तथा साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रवर्द्धन गर्नुपर्ने विषयमा उनले जोड दिँदै आएका छन्।
पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सुबेदीलाई वि.सं. २०८० मा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘प्रबल जनसेवा श्री’ विभूषण प्रदान गरिएको थियो। राष्ट्रियस्तरको सम्मानले पर्यटन क्षेत्रमा उनले पुर्याएको योगदानलाई थप संस्थागत रूपमा पहिचान दिएको छ।

ट्रेकिङ गाइडका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका सुबेदीले व्यवसायी, संस्थागत नेतृत्वकर्ता, पर्यटन विज्ञ र साहित्यकारका रूपमा आफ्नो परिचय विस्तार गरेका छन्। लामो समयसम्म एउटै क्षेत्रमा निरन्तर सक्रिय रहँदै पर्यटन उद्योगका विभिन्न आयाममा काम गरेका कारण उनी नेपाली पर्यटन क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा स्थापित छन्।
नेपालको पर्यटन क्षेत्र प्राकृतिक तथा सांस्कृतिक सम्भावनाले समृद्ध भए पनि त्यसको दिगो विकास, पूर्वाधार विस्तार, दक्ष जनशक्ति उत्पादन, अन्तर्राष्ट्रिय बजारीकरण र व्यवसायमैत्री नीतिको आवश्यकता अझै रहेको बताउँदै आएका छन्।
पर्यटन विज्ञहरूका अनुसार नेपालको पर्यटन क्षेत्रलाई थप गतिशील र परिणाममुखी बनाउन सरकारले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म अनुभवी व्यवसायी तथा विज्ञको ज्ञान र व्यावहारिक अनुभवलाई समेट्नै पर्ने धारण छ ।
नयाँ गन्तव्यको विकास, पर्यटन पूर्वाधार, अन्तर्राष्ट्रिय बजारीकरण, दक्ष जनशक्ति र नीतिगत स्थिरतामा निजी क्षेत्रको अनुभवलाई उपयोग गर्न सके पर्यटनको सम्भावनालाई रोजगारी, आर्थिक गतिविधि र राष्ट्रिय आय वृद्धिसँग जोड्न थप प्रभावकारी हुने उनीहरूको धारणा छ।
लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील सुबेदीजस्ता अनुभवी व्यवसायी तथा विज्ञको ज्ञान, अनुभव र दृष्टिकोण नेपालको पर्यटन क्षेत्रको आगामी नीति तथा विकासका लागि महत्वपूर्ण हुन सक्छ। तीन दशकभन्दा लामो पर्यटन यात्रामा गाइडदेखि उद्यमी, संस्थागत नेतृत्वकर्ता हुँदै राष्ट्रिय सम्मान प्राप्त व्यक्तित्वका रूपमा स्थापित सुबेदी हाल नेपाल पर्यटन बोर्डको सदस्यसमेत हुन्। पर्यटन क्षेत्रमा निरन्तर सक्रिय रहँदै हासिल गरेको उनको अनुभव, ज्ञान र योगदान नेपाली पर्यटन क्षेत्रका लागि महत्वपूर्ण प्रेरणाका रूपमा लिन सकिन्छ।




























