दोलखा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै दोलखाको गौरीशंकर गाउँपालिकामा पनि पार्टीको स्थानीय नेतृत्वका लागि आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ।
गौरीशंकर गाउँपालिका सभापतिका लागि मेडिकल व्यवसायी सुब्बा खड्काले लामो समयदेखि आफ्नो पक्षमा वातावरण बनाउन लबिङ गरिरहेको चर्चा कांग्रेस वृत्तमा सुरु भएको छ।
सिङ्गटी बजारमा लामो समयदेखि ROLWALING COMMUNITY HOSPITAL सञ्चालन गर्दै आएका खड्का पछिल्लो समय अधिकांश समय गौरीशंकर गाउँपालिकाको सेरोफेरोमा बसोबास गर्ने भएकाले स्थानीय कांग्रेस कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट र संवाद गर्दै आएका छन्।
व्यवसायसँगै सामाजिक गतिविधिमा समेत जोडिँदै आएका खड्काले गाउँपालिकाका विभिन्न क्षेत्रका कांग्रेस कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय जनतासँग निरन्तर भेटघाट गर्दै संगठनको अवस्था, स्थानीय समस्या र पार्टीको आगामी नेतृत्वबारे छलफल गरिरहेको बताइन्छ।
गौरीशंकर कांग्रेसको नेतृत्वका लागि खड्काको सक्रियतालाई स्थानीय तहमा नयाँ नेतृत्वको खोजीका रूपमा समेत हेरिएको छ। यद्यपि, सभापतिका लागि उनको उम्मेदवारी औपचारिक रूपमा घोषणा भइसकेको भने छैन।
कांग्रेसको अधिवेशन प्रक्रिया अघि बढेसँगै गौरीशंकरमा सभापतिका सम्भावित उम्मेदवार र उनीहरूको राजनीतिक सक्रियताबारे चर्चा थप चुलिने देखिएको छ।


























