काठमाडौं । कालिन्चोक गाउँपालिका–४ का वडा अध्यक्ष दीपक खुलालले वडाको विकास बजेटमा सडक पूर्वाधार र खानेपानीलाई प्राथमिकतामा राखिएको बताएका छन्। उपलब्ध सीमित स्रोतसाधनलाई स्थानीय आवश्यकता र जनताको प्रत्यक्ष लाभ हुने क्षेत्रमा केन्द्रित गर्दै विकासका योजना अघि बढाइएको उनले बताए।
वडा अध्यक्ष खुलालका अनुसार वडाबाट विनियोजन हुने बजेटमध्ये ४० प्रतिशतभन्दा बढी रकम सडक निर्माण तथा स्तरोन्नतिमा जाने गरेको छ। सडकसँगै खानेपानी, विद्युत् र स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकतामा राखेर योजना सञ्चालन गरिएको उनले जानकारी दिए।
आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा खानेपानी आयोजनालाई उल्लेख गरे। कालिन्चोक गाउँपालिका वडा न ४ मा विभिन्न खानेपानी आयोजना सञ्चालन गरी रिजर्भ ट्यांकी निर्माण तथा घर–घरमा धारा पुर्याउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ छ।
खुलाल भन्छन मेरो कार्यकालमा सबैभन्दा उपलब्धिमूलक काम खानेपानीको क्षेत्रमा भएको छ। विभिन्न ठाउँमा रिजर्भ ट्यांकी निर्माण गरेर घर–घरमा एक धारा पुर्याउने कामलाई प्राथमिकता दिएको तथाकृषि पशुपालनलाई आत्मनिर्भर बनाउने र युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने विषयमा भने चुनौती रहेको र गाउँमा काम गर्ने जनशक्तिको अभाव र युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेकाले कृषि क्षेत्रमा अपेक्षाअनुसार काम गर्न कठिन भएको उनको भनाइ छ।
वैदेशिक रोजगारीमा गएका युवाहरू स्वदेश फर्किएर
स्थानीयस्तरमै उद्योग तथा व्यवसाय सञ्चालन गर्न इच्छुक ब्यक्तिको लागि सहयोग र तालिमको आबेदन आह्वान गरेपनि आबेदन फर्म भर्नेको सङ्ख्या शुन्य नै रहेको उनले बताए।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडा र पालिकाबाट आवश्यक पहल भइरहेको अध्यक्ष खुलालले बताए। स्थानीय आवश्यकता र विद्यार्थीको सिकाइ क्षमतालाई ध्यानमा राखेर विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
बालविवाह र महिला हिंसा न्यूनीकरणमा कार्यक्रमवडा क्षेत्रमा देखिने बालविवाह तथा महिला हिंसाजस्ता सामाजिक समस्याको न्यूनीकरणका लागि पनि कार्यक्रम सञ्चालन गरिएको र जनचेतना अभिवृद्धि गर्दै यस्ता समस्या रोकथामका लागि स्थानीयस्तरबाट निरन्तर पहल भइरहेको अध्यक्ष खुलालको भनाइ छ।
योजना छनोटमा राजनीतिक दबाबभन्दा स्थानीय आवश्यकता र भूगोललाई प्राथमिकता दिइएको अध्यक्ष खुलालले दाबी गरे।
“उनी भन्छन म नेपाली कांग्रेसबाट जनप्रतिनिधिका रूपमा आएको हुँ। तर योजना बनाउँदा पार्टीको दबाबमा भन्दा आफ्नो भूगोलको आवश्यकता पहिचान गरेर योजना बनाउने गरेको छु।योजना छनोट तथा बजेट वितरणमा पारदर्शिता र निष्पक्षतालाई प्राथमिकता दिएको उनले बताए।
वडा तहमा सञ्चालन हुने विकास निर्माणका काममा जनप्रतिनिधि, उपभोक्ता समिति र कर्मचारी सबैको भूमिका महत्वपूर्ण हुने भन्दै योजना निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्म सम्बन्धित निकायको प्रक्रियाअनुसार काम हुने भएकाले पारदर्शितामा जोड दिइएको भनाइ छ।
आफ्नो वडामा पर्याप्त बजेट नहुँदा पूरा गर्न नसकिएका योजनामध्ये सिँचाइ आयोजना प्रमुख रहेको र सिँचाइका ठूला आयोजना सञ्चालन गर्न ठूलो रकम आवश्यक पर्ने तर वडा तहमा सीमित बजेट मात्र आउने भएकाले समस्या भएको उनको भनाइ छ।
“सिँचाइका लागि ठूलो बजेट आवश्यक पर्छ।तर वडा तहमा आउने सीमित बजेटबाट सडक, खानेपानीलगायतका आधारभूत आवश्यकतालाई पनि सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसैले सिँचाइका ठूला योजना चाहेर पनि पर्याप्त रूपमा अघि बढाउन सकेका छैनौँ,” उनले भने।
अध्यक्ष खुलालले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय गरी ठूला पूर्वाधार तथा सिँचाइ आयोजनामा पर्याप्त बजेट व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए।




























