काठमाडौं । एभरेष्ट बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा आफ्नो १३४औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सुदूरपश्चिम प्रदेशमा आफ्नै नयाँ भवनबाट शाखा तथा प्रादेशिक कार्यालयको सेवा सुरु गरेको हो।
बैंकले २०८३ साल असोज ५ गते आयोजना गरेको कार्यक्रममा धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा नयाँ भवन तथा शाखाको उद्घाटन गरेका हुन्।
नयाँ शाखा सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ। बैंकले यसअघि सञ्चालनमा रहेको सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत नयाँ भवनमा स्थानान्तरण गरी त्यहीँबाट सम्पूर्ण सेवा प्रदान गर्ने जनाएको छ।
शाखा तथा नयाँ भवन उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो।
क्याम्पस चोकमा बैंककै स्वामित्वमा रहेको भवनबाट शाखा सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योग, व्यवसाय तथा आर्थिक गतिविधिमा थप सहजता आउने बैंकको विश्वास छ। नयाँ शाखामार्फत स्थानीय ग्राहकलाई बैंकिङ सेवा सहज रूपमा उपलब्ध गराउँदै धनगढी तथा सुदूरपश्चिमको समग्र आर्थिक विकासमा थप योगदान पुग्ने बैंकले जनाएको छ




























