काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रको विज्ञता, अध्ययन तथा अनुसन्धान र नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई सम्बन्धित मुलुकका लागि राजदूतमा सिफारिस गरेको हो।
सरकारका अनुसार सिफारिसमा परेका व्यक्तिहरूले कूटनीति, सुरक्षा, शिक्षा, अनुसन्धान तथा विभिन्न क्षेत्रमा काम गरेको अनुभव हासिल गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेका नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नाम सम्बन्धित मुलुकबाट अग्रिमो (स्वीकृति) लिन पठाइनेछ। सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले उनीहरूलाई सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।
यससँगै राजदूत नियुक्तिको प्रक्रिया संसदीय सुनुवाइ र सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि अन्तिम चरणमा पुग्नेछ।
प्रस्तावित राजदूत
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापालाई राजदूतमा सिफारिस गरेको छ।
त्यस्तै, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन र जर्मनीका लागि शारू जोशीलाई सिफारिस गरिएको छ।
ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।
सरकारले सिफारिस गरेका नाम संसदीय सुनुवाइबाट अनुमोदन तथा सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त हुनेछन्।



























