काठमाडौं । आफ्ना माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेको चरणबद्ध आन्दोलनको दोस्रो दिन मंगलबार म्यानपावर व्यवसायीहरूले कालोपट्टी बाँधेर विरोध जनाएका छन्। व्यवसायीहरूले युवा,श्रम तथा रोजगार मन्त्रालय , वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराउँदै आ–आफ्नो कार्यालयमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन्।
संघले घोषणा गरेको आन्दोलनअन्तर्गत अध्यक्ष डिकबहादुर खत्रीसहित पदाधिकारी, व्यवसायी तथा कर्मचारीहरूले कालोपट्टी बाँधेर सरकारलाई आफ्ना मागप्रति गम्भीर बन्न आग्रह गरेका छन्। संघको कार्यालयमा अध्यक्ष खत्रीसहित प्रथम उपाध्यक्ष महेश बस्नेत, द्वितीय उपाध्यक्ष अनिल बोगटी, महासचिव हिराबहादुर डाँगी (हरि), सचिव केदारनाथ अधिकारी, कोषाध्यक्ष धनमाया सिंजाली तथा सदस्यहरू रवीन्द्र राई, राजेन्द्र बस्नेत, गीता राउत र तारा तामाङलगायतले कालोपट्टी बाँधेर विरोध जनाएका थिए।
अध्यक्ष खत्रीका अनुसार देशभरका अधिकांश म्यानपावर व्यवसायी तथा कर्मचारीहरूले पनि आ–आफ्नो कार्यालयमा कालोपट्टी बाँधेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। वैदेशिक रोजगार क्षेत्रमा देखिएका नीतिगत तथा व्यावसायिक समस्या समाधान गर्न सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनका कार्यक्रम सञ्चालन गरिएको उनले बताए।

उनका अनुसार संघले उठाएका विषय व्यवसायीको मात्र हितसँग सम्बन्धित नभई वैदेशिक रोजगारीमा जाने श्रमिकको हित तथा समग्र वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने विषयसँग समेत जोडिएका छन्।
“आज वैदेशिक रोजगार व्यवसायी तथा हाम्रा सहकर्मीहरू आ–आफ्नो कार्यालयमा कालोपट्टी बाँधेर सरकारलाई क्षेत्र सुधारका लागि दबाब दिइरहनुभएको छ,” अध्यक्ष खत्रीले भने, “हाम्रा माग सम्बोधन नभएसम्म चरणबद्ध रूपमा संघर्षका विभिन्न कार्यक्रम जारी रहनेछ।”
संघले वैदेशिक रोजगार क्षेत्र मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै सरकारले यस क्षेत्रका समस्या समाधानमा गम्भीरता देखाउनुपर्ने बताउँदै आएको छ। लाखौँ नेपाली श्रमिक वैदेशिक रोजगारीमा रहेको र उनीहरूले पठाउने विप्रेषणले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको संघको भनाइ छ।
संघका प्रथम उपाध्यक्ष एवं संघर्ष समितिका संयोजक महेश कुमार बस्नेतले सरकारले व्यवसायीका जायज माग सम्बोधन नगरे आन्दोलनका थप कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।
“सरकारले हाम्रा जायज माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछौँ,” बस्नेतले भने, “वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले गम्भीर बन्नुर्नुपर्छ।”
संघले यसअघि नै विभिन्न माग अघि सार्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले घोषित चरणबद्ध आन्दोलनअन्तर्गत पहिलो दिन विभागमा धर्नको कार्यक्रमपछि मंगलबार कालोपट्टी बाँधेर विरोध गरेको हो। आगामी दिनमा पनि माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने संघले जनाएको छ।






























