काठमाडौं । नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामाले पार्टीलाई विभाजनबाट जोगाउँदै १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लामाले नेपाली कांग्रेस विगतमा पटक–पटक संकटबाट गुज्रिए पनि पुनः सम्हालिँदै देश, लोकतन्त्र र जनताको पक्षमा काम गर्दै आएको इतिहास स्मरण गरे। उनले पार्टीलाई एकताबद्ध राख्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन्।
लामाका अनुसार ४७ जना जिल्ला सभापतिले समयमै नियमित अधिवेशन गर्नुपर्ने भन्दै विशेष महाधिवेशनले पार्टीलाई निकास दिन नसक्ने धारणा राखेर अभियान सञ्चालन गरेका थिए। तर उक्त अभियान सफल हुन नसकेको र त्यसपछि विशेष महाधिवेशनको अवस्था आएको उनले बताएका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापालाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट तत्कालीन रूपमा आधिकारिकता प्रदान भएपछि टिकट पाउने–नपाउने विषयमा नेताहरूबीच तिक्तता रहे पनि अधिकांश नेता–कार्यकर्ता एक भएर निर्वाचनमा होमिएको उनको भनाइ छ। विभिन्न कारणले अनपेक्षित परिणाम भोग्नुपरेको उनले उल्लेख गरेका छन्।
पार्टी विभाजनको संघारमा पुगेको अवस्थामा सर्वोच्च अदालतले पुनरावलोकनको पक्षमा मुद्दा अगाडि बढाउने निर्णय गरेपछि कांग्रेस पुनः एकपटक फुटबाट जोगिएको अनुभूति भएको लामाले बताएका छन्।
उनले दुवै पक्षमा देखिएका अतिवादी प्रवृत्तिको आलोचना गर्दै नेताहरूलाई व्यक्तिगत लाञ्छना लगाउने र आरोप–प्रत्यारोप गर्ने गतिविधि बन्द गर्न आग्रह समेत गरेका छन्।
“पार्टीलाई एकताबद्ध राख्नुको विकल्प छैन,” भन्दै उनले देश, जनता, विधि–पद्धति, सुशासन र लोकतन्त्रका लागि कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन्।
सर्वोच्च अदालतको निर्णयलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने भन्दै लामाले सम्भव भए अदालतको फैसला आउनुअघि नै संवादमार्फत समाधान खोजेर एकताको महाधिवेशन गर्नुपर्ने बताएका छन्। अदालतबाट फैसला आउन ढिला भए छिटो फैसला होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ।
“जुनसुकै पक्षमा फैसला आए पनि नियमित १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु हामी सबैको कर्तव्य हो,” लामाले भनेका छन्। फैसला शेरबहादुर देउवाको पक्षमा आए पनि वा विशेष महाधिवेशन पक्षधर गगनकुमार थापाको पक्षमा आए पनि पार्टीलाई एकताबद्ब राख्न सके मात्र देश, जनता, लोकतन्त्र र कांग्रेस कार्यकर्ताको भविष्य सुरक्षित हुने उनले बताएका छन्।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो आदर्शका रूपमा उल्लेख गर्दै लामाले लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवालाई स्वागत गर्नु सामान्य राजनीतिक तथा सामाजिक प्रचलन भएको बताएका छन्। स्वागतको विषयलाई अतिरञ्जित बनाएर प्रतिष्ठाको विषय बनाउनु उचित नभएको उनको धारणा छ।
उनले देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै स्वागतसमेत गरेका छन्।
विशेष भेलामा सहभागी हुने वा नहुने विषयमा विभिन्न नेता–कार्यकर्ताले जिज्ञासा राखेपछि आफ्नो धारणा सार्वजनिक गरेको लामाले बताएका छन्। यसअघि भृकुटीमण्डपमा विशेष महाधिवेशन भइरहँदा आफूहरू पार्टीलाई एकढिक्का राख्नुपर्ने भन्दै त्यहाँ सहभागी नभएको स्मरण गर्दै उनले अब अर्को पक्षले आयोजना गर्ने विशेष भेलामा पनि आफ्नो उपस्थिति नरहने स्पष्ट पारेका छन्।
आफूहरू कुनै पक्ष वा विपक्षमा नभई मध्यधारमा रहेर दुवै पक्षलाई संवादमार्फत एक ठाउँमा ल्याउने अभियानमा रहेको भन्दै लामाले जिल्ला सभापतिहरूले पार्टी एकता कायम गर्ने प्रयासलाई निरन्तरता दिने बताएका छन्।
“पार्टीलाई एकढिक्का राखेर १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्छ भन्ने अभियान जारी राख्नेछौँ,” लामाले भनेका छन्।


























