काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै जाँदा होटल तथा पर्यटन व्यवसायीहरू संकटमा पर्न थालेका छन्। ग्यासको नियमित आपूर्ति हुन नसक्दा दैनिक व्यवसाय सञ्चालनमै समस्या देखिन थालेको भन्दै व्यवसायीहरूले तत्काल आपूर्ति सहज बनाउन सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले ग्यासको अभावका कारण होटल तथा पर्यटन व्यवसायीहरू सबैभन्दा बढी प्रभावित भएको बताए। बजारमा ग्यासको हाहाकार हुँदा व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको र यसतर्फ सरकार तथा सरोकारवाला निकायको तत्काल ध्यान जानुपर्ने उनको भनाइ छ।
‘अहिले हामी निकै ठूलो समस्यामा छौँ। बजारमा ग्यासको हाहाकार छ,’ बरालले भने, ‘साना होटलमा दैनिक तीनदेखि पाँचवटासम्म ग्यास खपत हुन्छ भने मझौला होटलमा दैनिक पाँचदेखि १० वटासम्म ग्यास आवश्यक पर्छ। तर आवश्यकताअनुसार ग्यास उपलब्ध हुन नसक्दा व्यवसाय सञ्चालनमै समस्या भइरहेको छ।’
होटल व्यवसाय प्रत्यक्ष रूपमा ग्यासको आपूर्तिमा निर्भर रहेकाले बजारमा देखिएको अभावले व्यवसायको नियमित सेवा प्रभावित भएको व्यवसायीहरूको भनाइ छ। ग्यास सहज रूपमा उपलब्ध नहुँदा खाना पकाउनेदेखि ग्राहकलाई सेवा दिने कार्यसम्म प्रभावित हुन थालेको उनीहरूले बताएका छन्।
बरालले ग्यासको अभाव लामो समयसम्म कायम रहे साना तथा मझौला होटल व्यवसायी थप संकटमा पर्न सक्ने बताए। व्यवसायीले नियमित रूपमा ग्यास खरिद गर्नुपर्ने भए पनि बजारमा पर्याप्त ग्यास नपाउँदा सञ्चालन खर्चसमेत बढिरहेको उनको भनाइ छ।
‘ग्यासको आपूर्ति सहज नभए होटल व्यवसायीलाई ठूलो असर पर्छ,’ बरालले भने, ‘सरकार र सम्बन्धित निकायले तत्काल बजारको अवस्था बुझेर पर्याप्त ग्यास उपलब्ध हुने व्यवस्था गर्नुपर्छ।’
व्यवसायीहरूले बजारमा ग्यासको कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन प्रभावकारी अनुगमन गर्नसमेत सरकारसँग आग्रह गरेका छन्। साथै, होटल व्यवसायीको दैनिक आवश्यकता र खपतलाई ध्यानमा राख्दै नियमित तथा सहज आपूर्ति प्रणाली सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।
ग्यास अभावका कारण व्यवसाय सञ्चालनमै कठिनाइ उत्पन्न भइरहेका बेला सरकारले समस्या समाधानका लागि तत्काल पहल नगरे होटल तथा पर्यटन व्यवसाय थप प्रभावित हुने व्यवसायीहरूको चिन्ता छ।


























