काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको साधारणसभा तथा छैटौँ अधिवेशन आज हुँदैछ। साधारणसभा तथा अधिवेशनमा संस्थाले हालसम्म गरेका काम तथा प्रगतिको समीक्षा, आगामी कार्यदिशा, व्यवसायीका हकहित र संस्थाको भावी भूमिकाबारे छलफल हुने भएको छ।
धुम्बाराही चोकस्थित लर्ड पार्टी भेन्युमा बिहान ८ः३० बजे सुरु हुने कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गरिनेछ। साथै संस्थाले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीका विषयमा समेत छलफल हुने मञ्चले जनाएको छ।
साधारणसभामा संस्थाले वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षणका लागि गरेका पहल, व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तथा तिनको समाधानका लागि भएका प्रयासको समीक्षा गरिनेछ। व्यवसायीका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरेर समाधान खोज्ने विषयलाई पनि प्राथमिकतामा राखिने बताइएको छ।
अधिवेशनमा वैदेशिक रोजगार व्यवसाय क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या, व्यवसायीमैत्री नीति निर्माण, व्यवसाय सञ्चालनका लागि सहज वातावरण तथा श्रमिकको हितसँग सम्बन्धित विषयमा समेत छलफल हुनेछ। वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउन संस्थाले आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे पनि छलफल गरिनेछ।
साधारणसभा तथा अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गर्नेछ। नयाँ नेतृत्वमार्फत व्यवसायीका हकहितका विषयलाई प्रभावकारी रूपमा उठाउने, नीतिगत सुधारका लागि पहल गर्ने तथा वैदेशिक रोजगार व्यवसाय क्षेत्रमा देखिएका समस्याको समाधानका लागि संस्थागत प्रयासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
मञ्चका अध्यक्ष जनक रावलले साधारणसभा तथा अधिवेशन संस्थाले गरेका कामको समीक्षा गर्दै आगामी दिनको प्राथमिकता र कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसर भएको बताए। व्यवसायीका साझा समस्या तथा हकहितका विषयमा छलफल गरी संस्थालाई थप प्रभावकारी बनाउने दिशामा अधिवेशन केन्द्रित हुने उनको भनाइ छ।
उनले वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षणसँगै व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन सरकार तथा सम्बन्धित निकायसँग निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताए। व्यवसायीका समस्या समाधान र नीतिगत सुधारका लागि संस्थागत रूपमा प्रभावकारी पहल गर्ने आगामी नेतृत्वको मुख्य जिम्मेवारी हुने उनको भनाइ छ।


























