चरिकोट । हिमाली भूगोल, प्राकृतिक सौन्दर्य, धार्मिक तथा ऐतिहासिक सम्पदा र मौलिक संस्कृतिले सम्पन्न दोलखा पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास हुने क्रममा छ। कालिञ्चोकदेखि चो रोल्पा, जिरीदेखि शैलुङ र लप्ची भ्यालीसम्मका विविध गन्तव्यले जिल्लालाई धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको सम्भावनायुक्त क्षेत्रका रूपमा चिनाएका छन्।
पर्यटकीय सम्भावना पर्याप्त भए पनि पूर्वाधार, प्रचारप्रसार र गन्तव्यबीचको समन्वयको अभावमा अपेक्षित लाभ लिन नसकिएको पर्यटन व्यवसायीहरूको भनाइ छ। जिल्लाका पर्यटकीय गन्तव्यलाई एकीकृत पर्यटन सर्किटमा जोड्दै योजनाबद्ध विकास गर्न सके पर्यटकको आगमन र बसाइ अवधि दुवै बढाउन सकिने उनीहरूको अपेक्षा छ।
दोलखाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा कालिञ्चोकले आफ्नो पहिचान बनाएको छ। समुद्री सतहबाट करिब ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक आस्थाको केन्द्र हुनुका साथै हिमाली दृश्यावलोकनका लागि पनि चर्चित छ। मौसम खुलेका बेला यहाँबाट गौरीशंकरलगायत हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ। केबलकार सञ्चालनपछि कालिञ्चोक पुग्ने पर्यटकलाई थप सहज भएको छ।
प्राचीन दोलखा बजारमा रहेको दोलखा भीमसेन मन्दिर पनि जिल्लाको महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदा हो। मन्दिरसँगै रहेको पुरानो नेवारी बस्ती, मौलिक वास्तुकला, जात्रा तथा सांस्कृतिक परम्पराले दोलखा बजारलाई धार्मिकसँगै सांस्कृतिक पर्यटनको गन्तव्य बनाएको छ।
जिरी प्राकृतिक सौन्दर्य, हरियाली पहाड, शान्त वातावरण, शेर्पा संस्कृति र पदयात्राका कारण पर्यटकको रोजाइमा पर्दै आएको छ। नेपालको ‘स्विट्जरल्यान्ड’का रूपमा समेत चिनिने जिरीलाई हिमाली तथा ग्रामीण पर्यटनको आधार केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना छ।
त्यस्तै, सयौं साना–ठूला थुम्काले बनेको शैलुङको भू–बनोट, हरियाली डाँडाकाँडा र हिमाली दृश्यले पर्यटकलाई आकर्षित गर्दै आएको छ। गर्मीयाममा हरियाली र जाडोयाममा हिमपातले शैलुङको आकर्षण थप बढाउने गरेको छ।
गौरीशंकर संरक्षण क्षेत्र दोलखाको प्राकृतिक तथा जैविक पर्यटनको महत्वपूर्ण आधार हो। जैविक विविधता, हिमाली भू–दृश्य, वन्यजन्तु र विभिन्न जातजातिको मौलिक संस्कृति यस क्षेत्रका प्रमुख विशेषता हुन्। संरक्षण क्षेत्रभित्रका पदयात्रा मार्गलाई व्यवस्थित र सुरक्षित बनाउन सके लामो दूरीका पदयात्रु आकर्षित गर्न सकिने व्यवसायीहरूको भनाइ छ।
चो रोल्पा हिमताल पनि दोलखाको साहसिक तथा हिमाली पर्यटनको प्रमुख गन्तव्य हो। लामाबगर हुँदै पदयात्राबाट पुगिने चो रोल्पासम्मको यात्राले पर्यटकलाई हिमाली भूगोल र प्राकृतिक सौन्दर्यको प्रत्यक्ष अनुभव गराउँछ। तर, पर्यटकको बसाइ अवधि बढाउन पदमार्ग, सूचना केन्द्र, सुरक्षा, आवास तथा अन्य आधारभूत पूर्वाधारमा थप लगानी आवश्यक देखिन्छ।
तामाकोशी नदी, लामाबगर, बिगु, बिगु गुम्बा, खरिढुंगा, मेलुङ, वैतेश्वरलगायतका क्षेत्रलाई समेत पर्यटनसँग जोड्न सकिने सम्भावना छ। धार्मिक, प्राकृतिक, सांस्कृतिक र ग्रामीण पर्यटनलाई एकीकृत गरी पर्यटन सर्किट निर्माण गर्न सके जिल्लाका विभिन्न गाउँ तथा बस्तीमा पर्यटनको लाभ पुर्याउन सकिने देखिन्छ।
पर्यटनबाट रोजगारी र स्थानीय अर्थतन्त्रमा टेवा
पर्यटकको आगमन बढेसँगै होटल, होमस्टे, रेस्टुरेन्ट, यातायात, पर्यटक गाइड, हस्तकला तथा स्थानीय कृषि उत्पादनको बजार विस्तार हुने सम्भावना छ। पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सके किसान, युवा, महिला तथा साना व्यवसायीले प्रत्यक्ष लाभ लिन सक्नेछन्।
चरिकोटलाई प्रवेशद्वार तथा पर्यटनको आधार केन्द्र बनाएर कालिञ्चोक, दोलखा बजार, जिरी, शैलुङ, लप्ची भ्याली, गौरीशंकर र चो रोल्पालगायतका गन्तव्यलाई जोडेर पर्यटन सर्किट निर्माण गर्न सके पर्यटकको बसाइ अवधि बढाउन सकिने व्यवसायीहरूको अपेक्षा छ।
पर्यटन सम्मेलन गर्नुपर्ने व्यवसायीको माग
दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले जिल्लाको पर्यटन सम्भावनालाई व्यवस्थित रूपमा उजागर गर्न पर्यटन सम्मेलन आयोजना गर्न आवश्यक रहेको बताउनुभएको छ।
उहाँका अनुसार जिल्लामा प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका प्रशस्त सम्भावना भए पनि पर्याप्त प्रचारप्रसार, पूर्वाधार विकास र पर्यटकीय गन्तव्यबीच समन्वयको अभाव छ। पर्यटन क्षेत्रको सम्भावनालाई योजनाबद्ध रूपमा अघि बढाउन सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र पर्यटन व्यवसायीबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।
“दोलखाको पर्यटनलाई नयाँ उचाइमा पुर्याउन सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र पर्यटन व्यवसायीबीच सहकार्य आवश्यक छ। त्यसका लागि पर्यटन सम्मेलनमार्फत सम्भावना, चुनौती र समाधानका विषयमा साझा छलफल गरी ठोस कार्ययोजना बनाउनुपर्छ,” श्रेष्ठले भन्नुभयो।
उहाँले कालिञ्चोक, दोलखा भीमसेन, जिरी, शैलुङ, लप्ची भ्याली, गौरीशंकर संरक्षण क्षेत्र र चो रोल्पालगायतका गन्तव्यलाई एकीकृत पर्यटन सर्किटका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। चरिकोटलाई आधार केन्द्र बनाएर यी गन्तव्यलाई जोड्न सके पर्यटकलाई एकदिने भ्रमणमा मात्र सीमित नराखी बहुदिनसम्म दोलखामा बस्न आकर्षित गर्न सकिने उहाँको भनाइ छ।
“पर्यटकको बसाइ अवधि बढाउन सके होटल, होमस्टे, यातायात, रेस्टुरेन्ट, गाइड तथा स्थानीय उत्पादनको बजार विस्तार हुन्छ। यसले स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर पनि बढाउँछ,” श्रेष्ठले भन्नुभयो।
पूर्वाधार र प्रचारप्रसार मुख्य चुनौती
दोलखामा पर्यटकीय सम्भावना पर्याप्त भए पनि सबै गन्तव्यमा सडक, पदमार्ग, खानेपानी, सरसफाइ, सूचना केन्द्र, सार्वजनिक शौचालय, सुरक्षा तथा गुणस्तरीय आवासको सुविधा पर्याप्त छैन। कतिपय गन्तव्यको प्रचारप्रसारसमेत अपेक्षाअनुसार हुन सकेको छैन।
श्रेष्ठले पर्यटन सम्मेलनमार्फत जिल्लाका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार विकास, प्रचारप्रसार, पर्यटन सर्किट निर्माण, लगानीको सम्भावना, स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटकको सुरक्षा र सेवासुविधाका विषयमा साझा योजना बनाउनुपर्ने बताउनुभयो।
उहाँका अनुसार सम्मेलन केवल औपचारिक छलफलमा सीमित नभई पर्यटन विकासका लागि स्पष्ट प्राथमिकता, जिम्मेवारी र समयसीमासहितको कार्ययोजना निर्माण गर्ने थलो बन्नुपर्छ।
पर्यटन व्यवसायीहरूले तीनै तहका सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र पर्यटनसँग सम्बन्धित संघसंस्थाबीच सहकार्य बढाएर पूर्वाधार निर्माण तथा प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। डिजिटल माध्यमबाट जिल्लाका गन्तव्यको प्रचार, पर्यटक सूचना केन्द्र स्थापना, होमस्टे प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा समेत जोड दिनुपर्ने उनीहरूको भनाइ छ।
दोलखाका धार्मिक, प्राकृतिक, साहसिक, सांस्कृतिक तथा ग्रामीण गन्तव्यलाई एउटै प्याकेजमा जोड्न सके पर्यटकलाई छोटो भ्रमणमा सीमित नराखी लामो गन्तब्य बस्न आकर्षित गर्न सकिने सम्भावना छ।
हिमाल, हरियाली, धर्म, संस्कृति र साहसिक पर्यटनको अनुपम संगम रहेको दोलखालाई अब केवल आवतजावतको बाटोमा पर्ने जिल्ला नभई आफैंमा आकर्षक र पूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ। त्यसका लागि पर्यटन सम्मेलनमार्फत जिल्लाको पर्यटन विकासका लागि साझा दृष्टिकोण, स्पष्ट रणनीति र ठोस कार्ययोजना तय गर्दै सरकार, स्थानीय समुदाय, निजी क्षेत्र र पर्यटन व्यवसायीबीच प्रभावकारी सहकार्य आवश्यक छ,उनले भने।





























