काठमाडौं । रसुवा–भोटेकोसी क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि नेपाल शेर्पा संघले स्थापना गरेको आपतकालीन राहत कोषमा सहयोग आउने क्रम जारी रहेको छ। हालसम्म राहत कोषमा करिब ३० लाख रुपैयाँको हाराहारीमा रकम संकलन भइसकेको नेपाल शेर्पा संघका केन्द्रीय उपाध्यक्ष तथा सामाजिक सेवा विभाग प्रमुख सञ्जय शेर्पाले जानकारी दिएका छन्।
शेर्पाका अनुसार बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले नेपाल शेर्पा संघको देशभर रहेका विभिन्न छाता संगठन तथा सम्बन्धित संस्थाहरूले राहत कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।देशभरबाट सहयोग रकम आउने क्रम जारी रहेकाले केही दिनमा थप रकम संकलन हुने संघले जनाएको छ। संकलित सम्पूर्ण रकमलाई एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तयारी गरिएको उपाध्यक्ष शेर्पाले बताए।
उनले विपद्को यस कठिन अवस्थामा सहयोगका लागि हातेमालो गर्ने सबै संघसंस्था, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै संकलित रकम पीडितको राहतमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास व्यक्त गरे।


























