काठमाडौं । नेपाल टेलिकमले सर्वसाधारणको सहजताका लागि विभिन्न सार्वजनिक स्थानमा राखेका मोबाइल चार्जिङ स्टेसन प्रयोगविहीन बनेका छन्। सेवाग्राहीको अत्यधिक चाप हुने स्थानमा राखिएका यस्ता चार्जिङ स्टेसनमा टेलिकमको लोगो र प्रचार सामग्री आकर्षक देखिए पनि मोबाइल चार्ज भने नहुने गुनासो बढेको छ।
काठमाडौंस्थित कान्ति बाल अस्पतालमा पनि नेपाल टेलिकमको नाम र लोगो अंकित चार्जिङ स्टेसन राखिएको छ। अस्पतालमा दैनिक ठूलो संख्यामा सेवाग्राही तथा कुरुवा आउने गर्छन्। उनीहरूको सुविधाका लागि राखिएको चार्जिङ स्टेसनमा विभिन्न प्रकारका चार्जर तथा डाटा केबलहरू राखिएका छन्।
चार्जिङ स्टेसनमा नेपाल टेलिकमको लोगो उज्यालो देखिने गरी राखिएको छ। हेर्दा आकर्षक र प्रयोगमैत्री देखिए पनि त्यहाँ मोबाइल जोडेर चार्ज गर्न खोज्दा भने चार्ज नहुने अवस्था रहेको सेवाग्राहीहरूले बताएका छन्।
‘चार्जिङ स्टेसन देख्दा राम्रो लाग्छ, तर मोबाइल चार्ज गर्न खोज्दा काम गर्दैन,’ एक सेवाग्राहीले भने, ‘सेवाभन्दा नेपाल टेलिकमको लोगो र विज्ञापन मात्रै देखिने अवस्था भयो।’
सार्वजनिक स्थानमा सर्वसाधारणको सुविधाका लागि राखिएका उपकरण नियमित रूपमा सञ्चालनमा छन् कि छैनन् भन्ने विषयमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने देखिन्छ। विशेषगरी अस्पतालजस्तो संवेदनशील र सेवाग्राहीको अत्यधिक भीड हुने स्थानमा राखिएको चार्जिङ स्टेसन लामो समयदेखि प्रयोगविहीन भए त्यसको मर्मत तथा व्यवस्थापनमा नेपाल टेलिकमले ध्यान दिनुपर्ने देखिन्छ।
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले राखिएका यस्ता संरचना केवल प्रचार–प्रसारको माध्यममा सीमित नभई वास्तवमै सेवाग्राहीको उपयोगमा आउनुपर्ने आवश्यकता छ।


























