काठमाडौं । वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी र श्रमिकमैत्री बनाउन आवश्यक नीतिगत सुधारका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल भएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री (कुमर) नेतृत्वको प्रतिनिधिमण्डलले सभापति लामिछानेलाई भेट गरी वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या, नीतिगत कमजोरी तथा व्यवसायी र श्रमिकले भोग्दै आएका समस्याबारे ध्यानाकर्षण गराएको हो।
भेटमा संघले सरकारसँग निरन्तर सहकार्य गर्दै आए पनि वैदेशिक रोजगार क्षेत्रमा देखिएका कतिपय समस्या र नीतिगत कमजोरी तत्काल सम्बोधन हुन नसकेको जनाएको थियो। श्रमिकको हकहित संरक्षणसँगै व्यवसायीलाई समान अवसर र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्न आवश्यक नीतिगत सुधार गर्नुपर्ने संघको धारणा थियो।
भेटका क्रममा नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाको श्रमिक भर्ना प्रक्रियामा ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसीएमएस)’ मार्फत सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै पहुँच दिइएको विषयलाई संघले प्रमुखताका साथ उठाएको थियो।
संघले सीमित संस्थालाई मात्रै प्रणालीमा पहुँच दिइएको प्रक्रियाको आधिकारिकता, छनोटको मापदण्ड, पारदर्शिता, निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको थियो। समान प्रकृतिको व्यवसाय सञ्चालन गरिरहेका अन्य संस्थालाई प्रक्रियाबाट बाहिर राख्दा वैदेशिक रोजगार क्षेत्रमा एकाधिकार तथा अस्वस्थ प्रतिस्पर्धा बढ्न सक्ने भन्दै संघले यस विषयमा गम्भीर पहल आवश्यक रहेको जनाएको थियो।
संघका अनुसार सभापति लामिछानेले एफडब्लुसीएमएस प्रक्रियामा उठेका प्रश्नबारे आवश्यक छानबिनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। प्रक्रियामा अनियमितता वा गैरकानुनी गतिविधि भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थामाथि कानुनअनुसार कारबाही अघि बढाउन पहल गर्ने प्रतिबद्धता समेत लामिछानेले व्यक्त गरेको संघले जनाएको छ।
वैदेशिक रोजगार क्षेत्रमा सीमित समूहको प्रभाव वा एकाधिकार स्थापित गर्ने कुनै पनि प्रयासले श्रमिक र व्यवसायी दुवैलाई असर पार्न सक्ने संघको भनाइ छ। यस्तो अवस्थाले नेपाल र मलेसियाबीचको श्रम सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने भएकाले श्रमिक भर्ना प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र समान अवसरमा आधारित हुनुपर्नेमा संघले जोड दिएको छ।
संघले वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि राजनीतिक दल, सरकार, व्यवसायी तथा अन्य सरोकारवाला निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको जनाएको छ। श्रमिकको हित संरक्षण, व्यवसायीका समान अधिकार सुनिश्चितता तथा क्षेत्रको संस्थागत सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने संघको धारणा छ।
भेटमा संघका तर्फबाट अध्यक्ष डिकबहादुर खत्रीसहित प्रथम उपाध्यक्ष महेशकुमार बस्नेत, द्वितीय उपाध्यक्ष अनिल बोगटी, तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल, महासचिव हीराबहादुर डाँगी (हरि), कोषाध्यक्ष धनमाया सिंजाली , सचिव केदारनाथ अधिकारी सहभागी थिए।
त्यस्तै, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरे, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी, महासचिव कुन्छादोर्जे दिमदोङ तथा कानुनी सल्लाहकार एवं वरिष्ठ अधिवक्ता देवराज कटुवाल लगायतको समेत सहभागिता रहेको थियो।
भेटमा वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने, श्रमिकको हकहित संरक्षण गर्ने तथा व्यवसायीले भोग्दै आएका नीतिगत र व्यावहारिक समस्या समाधान गर्ने विषयमा समेत छलफल भएको संघले जनाएको छ।


























