काठमाडौं । रसुवा बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकका लागि नेपाली जनसम्पर्क समिति साउदी अरबले दुई चरणमा राहत तथा सहयोग पठाएको छ।
समितिले पहिलो चरणमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगद सहयोग गरेको थियो भने दोस्रो चरणमा करिब ४ लाख रुपैयाँ बराबरको सोलार प्यानल तथा अत्यावश्यक औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको छ।
सभापति अर्जुन थापाको नेतृत्वमा जनसम्पर्क समिति साउदी अरबको सिङ्गो टिमको पहलमा उक्त सहयोग जुटाई प्रभावित क्षेत्रमा पठाइएको समितिका सहमहामन्त्री रामचन्द्र राउतले जानकारी दिए।
राउतका अनुसार विपद्को कठिन घडीमा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले दोस्रो चरणमा सोलार प्यानल तथा अत्यावश्यक औषधिलगायतका सामग्री पठाइएको हो।
उनले बाढीपहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिन मानवीय भावनाका साथ समितिले सहयोगलाई निरन्तरता दिएको बताए।
विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै राउतले आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने बताए।
जनसम्पर्क समिति साउदी अरबले विपद्मा परेका नागरिकको दुःखमा साथ दिँदै मानवताको सेवामा एकता नै हाम्रो शक्ति भन्ने भावनाका साथ राहत अभियानलाई अघि बढाएको जनाएको छ।


























