काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको मानवीय सहयोग अभियान दशौं दिनमा पनि जारी रहेको छ।
अभियानअन्तर्गत नुवाकोटको तुप्चेमा बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। एनआरएनएको आयोजना तथा मेट्रो अस्पतालको सहकार्यमा सञ्चालित शिविरमा करिब ९० जना बाढी प्रभावित बालबालिका, महिला तथा अन्य नागरिकको स्वास्थ्य परीक्षण गरिएको हो।
एनआरएनए ग्लोबल हेल्थ कमिटीकी सह-अध्यक्ष प्रसुना कँडेलको नेतृत्वमा सञ्चालित शिविरमा मेट्रो अस्पतालका डा. अशोक कार्की, म्यानेजिङ डाइरेक्टर केशव राज खनाल, अस्पताल व्यवस्थापन तथा मानसिक स्वास्थ्य परामर्शदाता फपेन्द्र न्यौपाने र स्टाफ नर्स संगिता रिजाल सहभागी थिए। स्वास्थ्य परीक्षणसँगै प्रभावितलाई आवश्यक औषधिसमेत वितरण गरिएको थियो।
शिविरमा दीर्घरोगसम्बन्धी समस्या भएका बिरामीको संख्या बढी देखिएको स्वास्थ्यकर्मीले बताएका छन्। त्यस्तै ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या तथा संक्रामक रोगसँग सम्बन्धित लक्षण भएका बिरामीसमेत भेटिएका थिए। यसअघि त्रिशूली प्रादेशिक अस्पतालको समन्वयमा स्टार स्कुलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
पशुपतिमा काजक्रिया गरिरहेका परिवारलाई राहत
बाढीमा आफन्त गुमाएपछि काठमाडौंको पशुपतिस्थित क्रियापुत्री घरमा काजक्रिया गरिरहेका रसुवाको उत्तरगया गाउँपालिकाका प्रभावित परिवारलाई एनआरएनएले थप राहत सामग्री उपलब्ध गराएको छ।
एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टीका), महासचिव डा. चिरञ्जीवी खड्का तथा प्रमुख संरक्षक डा. बद्री केसीलगायतले क्रियापुत्री घरमा रहेका परिवारलाई आवश्यक राहत सामग्री हस्तान्तरण गरेका हुन्। एनआरएनएले यसअघि पनि उक्त परिवारलाई खाद्यान्न, चुलो लगायतका सामग्री उपलब्ध गराएको थियो।
एलो गुम्बामा आश्रय लिइरहेका परिवारलाई थप सामग्री
बाढीका कारण घरबारविहीन भई काठमाडौंको एलो गुम्बामा आश्रय लिइरहेका रसुवाका विस्थापित परिवारलाई पनि एनआरएनएले थप राहत सामग्री वितरण गरेको छ।
प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राख्दै यसअघि राहत सामग्री उपलब्ध गराउँदै आएको एनआरएनएले यसपटक त्यहाँ रहेका महिलाहरूको मागअनुसार लत्ताकपडा तथा बालबालिकाका लागि आवश्यक तेल, स्याम्पु लगायतका सामग्री उपलब्ध गराएको हो।
एनआरएनएले बाढी प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय र राष्ट्रिय समन्वय


























