काठमाडौं । कलंकी होटल एण्ड गेस्ट हाउस एसोसिएसनले जनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद तथा भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन गरेको छ।
एसोसिएसनले २०८२ भदौ २३ र २४ गते भएको जनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका नागरिकको चिरशान्तिको कामना गर्दै आज साँझ कलंकी चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो।
“एकता, सहकार्य र सेवा नै हाम्रो पहिचान” भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा होटल तथा गेस्ट हाउस व्यवसायी, व्यवसायी प्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै आन्दोलन तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।
सो अवसरमा देशमा शान्ति, सुशासन, समृद्धि र सामाजिक एकताको वातावरण निर्माण होस् भन्ने कामनासमेत गरिएको थियो। प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको भन्दै विपद्का समयमा राज्यसँगै निजी क्षेत्र र व्यवसायी समुदायले समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

एसोसिएसनका अध्यक्ष कुमार श्रेष्ठले व्यवसाय सञ्चालनसँगै समाजप्रतिको दायित्व पूरा गर्नु पनि व्यवसायीको जिम्मेवारी भएको बताए। दुःख, विपत्ति र संकटका समयमा व्यवसायी समुदायले मानवीय संवेदनासहित पीडित तथा प्रभावित समुदायसँगै उभिनुपर्ने उनको भनाइ थियो।
“होटल व्यवसायीको जिम्मेवारी व्यवसाय सञ्चालनमा मात्र सीमित हुँदैन । समाजमा आइपर्ने दुःख र विपत्तिको समयमा पनि व्यवसायी समुदायले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्छ,” अध्यक्ष श्रेष्ठले भने।
उनले आगामी दिनमा पनि एसोसिएसनले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
दीप प्रज्वलन कार्यक्रमले विपत्तिमा ज्यान गुमाएका नागरिकको सम्झनासँगै दुःखको समयमा समुदायबीच एकता, सहकार्य र मानवीय संवेदना बलियो बनाउन सन्देश दिएको एसोसिएसनले जनाएको छ।
कार्यक्रम साँझ ६ बजे कलंकी चोकमा आयोजना गरिएको थियो।




























