ताप्लेजुङ — ताप्लेजुङको दोभान बजारमा बिहीबार भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ। आगलागीमा आठ घर पूर्णरूपमा जलेर नष्ट भएका छन् भने दुई घरमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार आगलागीबाट किराना, भाँडावर्तन र लत्ताकपडाका पसलका सामान, अलैंची, घर तथा अन्य संरचना जलेर नष्ट भएका छन्। केही नगदसमेत जलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लाक्पाचुङ शेर्पा (डण्डु) को घरबाट आगलागी सुरु भएको थियो। आगलागीपछि घरधनी आठ परिवार र भाडामा बस्दै आएका सात परिवार गरी १५ परिवार विस्थापित भएका छन्।
पीडित परिवारले दिएको विवरण तथा जलेर नष्ट भएका सामान र संरचनाको प्रारम्भिक मूल्यांकनका आधारमा क्षतिको विवरण तयार पारिएको प्रहरीले जनाएको छ।
दोभान बजारमा यसअघि २०७७ फागुन १८ गते पनि भीषण आगलागी भएको थियो। त्यतिबेला ४९ घर जलेर नष्ट हुँदा करिब ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो।




























