काठमाडौं । साउदी अरेबियाको दूतावासबाट जवाफ प्राप्त नभएसम्म वैदेशिक रोजगारीमा साउदी जाने कामदारको बायोमेट्रिक नगर्न व्यवसायीलाई आग्रह गरिएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी दूतावासले नयाँ वर्ष २०२४ को जनवरी १ तारिखदेखि नेपालबाट वैदेशिक रोजगारीका लागि साउदी अरेबिया जाने कामदारको बायोमेट्रिक लागू गर्ने तयारी गरेको जनाइएको छ । वैशाख २९ गते साउदी दूतावासले बायोमेट्रिक प्रणाली फेमिलि भिसा र भिजिट भिसामा जाने नेपालीलाई मात्रै लागू हुने जानकारी दिएपछि कामदारको बायोमेट्रिक नगर्न व्यवसायीलाई संघका महासचिव मेघनाथ भुर्तेलले जारी गरेको विज्ञप्ति मार्फत आग्रह गरिएको हो ।
सोहीअनुसार परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएर पत्राचार गरेपछि कामदारलाई लागू हुनबाट रोकिएको अवस्थामा हाल श्रम मन्त्रालयको कुनै सहमति तथा अनुमतिबिना साउदी दूतावासले एकपक्षीय रूपमा बायोमेट्रिक लागू गर्न खोजेको जनाइएको छ ।
नेपालबाट साउदी अरब जाने आर्थिक रूपमा कमजोर अवस्थामा रहेका कामदारलाई अधिक आर्थिक भार पार्ने गरी नेपाल सरकारको अनुमतिबिना सञ्चालनमा ल्याउन लागिएको बायोमेट्रिक प्रणाली हटाउन पहल गर्न आग्रह पनि गरिएको जनाइएको छ । नेपाल सरकारले खाडी तथा मलेसिया जाने कामदार फ्रि भिसा फ्रि टिकटको निर्णयअनुसार न्यून लागतमा जान पाउने व्यवस्था गरेपनि कामदारलाई आर्थिकभार पार्ने काम भइरहेको जानकारहरु बताउँछन् ।



























