काठमाडौं : पर्यटक र अध्ययन भिषाको आडमा नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्दै आएका तीन जना इन्डोनेशियाली महिलालाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये एक जना पर्यटक भिसामा, जबकि दुई जना अध्ययन भिसामा नेपाल आएका थिए। तर अनुसन्धानबाट ती महिलाहरू कुनै पनि शैक्षिक संस्थामा नाम दर्ता नभएको पाइएको छ।
अध्ययन भिषाको आधारमा नेपाल आएका ती दुई महिलाले ललितपुरको धोबीघाटमा रहेको हिमालय शिक्षा तथा हितेशी समाज नामक संस्थामा गल्र्स होस्टेल सञ्चालन गर्दै कुरान अध्यापनमा संलग्न रहेको अध्यागमन विभागको भनाइ छ। सो संस्थाले हरेक वर्ष अन्तर्राष्ट्रिय सहयोगमा झन्डै दुई करोड ५० लाख रुपैयाँ धर्म प्रचारका लागि प्राप्त गर्ने गरेको तथ्य फेला परेको थियो ।
पक्राउ परेको बेला ती महिलाहरू ५० जना छात्रालाई कुरान पढाइरहेका थिए। अध्ययन वा पर्यटक भिषाको प्रयोजन विपरीत गतिविधिमा संलग्न देखिएपछि उनीहरूलाई अध्यागमन ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रचलित कानुनअनुसार, गैरकानुनी रूपमा बसेका विदेशी नागरिकलाई अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना गरिनुका साथै, तोकिएको वा अनिश्चित अवधिसम्म नेपाल प्रवेशमा रोक लगाउन सकिने व्यवस्था छ।



























