काठमाडौं : नेपाल सरकारले विदेशी नागरिकको आवागमन र गतिविधिलाई व्यवस्थित गर्न ‘विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली’ लागू गरेको छ। अध्यागमन विभागले जारी गरेको सूचना अनुसार यो प्रणालीले नेपाल आउने विदेशीको विवरणलाई डिजिटल माध्यमबाट ‘रियल टाइम’ मा ट्र्याकिङ गर्नेछ। यसबाट विदेशीको आगमन, बसोबास र प्रस्थानबारे सरकारलाई तत्काल जानकारी प्राप्त हुने सूचनामा उल्लेख छ ।
लामो समयको तयारीपछि कार्यान्वयनमा आएको यो प्रणालीले नेपालको सुरक्षा, पर्यटन प्रवर्धन र राष्ट्रिय हितलाई बलियो बनाउने विश्वास गरिएको छ। अध्यागमन विभागले यसलाई अन्तर्राष्ट्रिय कानुन र अभ्यासअनुसार नै लागू गरिएको जनाएको छ। यो प्रणाली कार्यान्वयनमा आएसँगै अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने र पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यो प्रणालीलाई दुई चरणमा अनिवार्य गरिएको छ। पहिलो चरणअन्तर्गत २०८२ असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका सबै होटलले आफ्ना विदेशी पाहुनाको विवरण यस प्रणालीमा दर्ता गर्नुपर्नेछ।
दोस्रो चरण भने मंसिर १ गतेदेखि सुरु हुनेछ। यस चरणमा देशभरका सबै होटल, कम्पनी, शैक्षिक संस्था, गुठी, अस्पताल तथा विदेशी नागरिकलाई सेवा दिने अन्य सार्वजनिक तथा निजी संस्थाहरूले पनि अनिवार्य रूपमा यो प्रणाली प्रयोग गर्नुपर्नेछ।
अध्यागमन विभागले सबै सरोकारवाला निकायलाई विदेशी नागरिकको विवरण यो प्रणालीमा प्रविष्ट गर्न आग्रह गरेको छ। प्रणालीको प्रयोग नगर्ने वा विवरण लुकाउने संस्थाहरूलाई कारबाही हुने विभागले जनाएको छ।
यो प्रणालीले विदेशी नागरिकको आगमन र प्रस्थानसम्बन्धी सम्पूर्ण जानकारीलाई व्यवस्थित गर्नेछ। यसमा विदेशीको व्यक्तिगत विवरण, नेपालमा बसोबास गरेको स्थान, गतिविधिको विवरण र अन्य आवश्यक जानकारीहरू समावेश गरिनेछ। यसले गर्दा कुनै पनि बेला विदेशीको अवस्थाबारे जानकारी लिन सजिलो हुनेछ।
प्रणालीको अनुगमन जिल्ला प्रशासन कार्यालयमार्फत गरिनेछ। यसको कार्यान्वयनलाई प्रभावकारी बनाउन अध्यागमन अनुगमन समितिहरूलाई पनि परिचालन गरिएको छ।





























