काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासिक अवधिसम्म नेपालमा काम गर्ने प्रयोजनका लागि ५ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन्।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार असोज मसान्तसम्म १ सय ६५ जनाले नयाँ श्रम स्वीकृति पाएका छन् भने ३ सय ३५ जनाको स्वीकृति नवीकरण गरिएको छ। असोज महिनामा मात्र २८ विदेशीले श्रम स्वीकृति लिएका थिए।
विभागका तथ्यांकअनुसार नेपालमा काम गर्न श्रम स्वीकृति लिने विदेशीहरूमा चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी छ। सडक, जलविद्युत्, विमानस्थल लगायत ठूला पूर्वाधार निर्माणमा चिनियाँ कम्पनीहरूको सक्रियता बढेसँगै चीनका नागरिकहरूको उपस्थिति उल्लेखनीय रहेको विभागले जनाएको छ।
विभागले विभिन्न प्रतिष्ठानमा कार्यरत विदेशी श्रमिकको श्रम स्वीकृति, बाल श्रम निरीक्षण, श्रम विवाद समाधान लगायतका विषयमा अनुगमन गरेको विवरणमा छ।
यसका साथै, विभागले विदेशमा रोजगारीका लागि जाने नेपाली कामदारहरूलाई पनि श्रम स्वीकृति प्रदान गर्दै आएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ४२ हजार ४ सय ६८ जनालाई श्रम स्वीकृति सेवा प्रदान गरिएको विभागको विवरणमा उल्लेख छ।



























