काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, रसुवा र धादिङका होटल तथा पर्यटन व्यवसायीलाई राहत तथा आर्थिक सहयोग गरेको छ । संघको टोली बुधबार नुवाकोटको विदुर नगरपालिका–स्थित होटल स्क्वायरमा पुगेर बाढीपीडित व्यवसायीलाई राहत आर्थिक सहयोग उपलब्ध गराएको हो ।
बाढी तथा पहिरोका कारण होटल तथा पर्यटन व्यवसायमा क्षति व्यहोरेका व्यवसायीलाई तत्काल राहत तथा सहयोग पुर्याउने उद्देश्यले संघले आह्वानमा संकलन भएको सहयोग लिएर नुवाकोट पुगेको हो । राहत वितरण कार्यक्रममा होटल ब्यवसायी माहासंघका उपाध्यक्ष ,नुवाकोटका होटल व्यवसायी, संघका पदाधिकारी तथा स्थानीय व्यवसायीको उपस्थिति थियो ।
कार्यक्रममा जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, वरिष्ठ उपाध्यक्ष भविश्वर दुबे, उपाध्यक्ष मनोहरी कँडेल, कार्यवाहक महासचिव शिवलाल गिरी, कोषाध्यक्ष लेखनाथ खरेल, लेखा समिति संयोजक श्याम चौलागाईं तथा सदस्यहरू हर्षबहादुर बिष्ट र तिलक श्रीपाली सहभागी थिए । त्यस्तै पर्यटन बिज्ञ तथा वातावरणविद् पीके शेर्पा र गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता एवं संघका सल्लाहकार सोम सापकोटालगायतको टोली राहत लिएर नुवाकोट पुगेको थियो ।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशका कोषाध्यक्ष विनोद लामिछाने, नुवाकोट होटल व्यवसायी संघका महासचिव रवीन्द्र चालिसेलगायत संघका पदाधिकारी तथा सदस्य व्यवसायीको उपस्थिति थियो ।
राहत वितरण कार्यक्रममा नुवाकोट होटल व्यवसायी संघका महासचिव रविन्द्र चालिसेले विपत्तिका कारण भएको मानवीय तथा आर्थिक क्षति अपेक्षाभन्दा ठूलो रहेको बताए । उनले बाढीबाट होटल तथा पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको उल्लेख गर्दै आगामी दिनमा प्रभावित व्यवसायीलाई साथ लिएर अघि बढ्ने प्रयास गरिने बताए ।
‘हामीले परिवार गुमायौं, व्यवसाय गुमायौं । पीडाका बीच प्राप्त यो सहयोग र साथले अगाडि बढ्ने हौसला दिएको छ,’ उनले भने । विपत्तिमा व्यवसायीबीचको सहकार्य र एकताले प्रभावितलाई पुनः व्यवसायमा फर्कन मनोबल प्रदान गर्ने उनको भनाइ थियो ।
नुवाकोट होटल व्यवसायी संघकी सदस्य लीला श्रेष्ठले बाढीका कारण आफूले भोगेको क्षतिबारे भावुक हुँदै पीडा सुनाइन् । भदौ १० गते आएको बाढीका कारण भएको क्षतिले व्यवसायसँगै व्यक्तिगत तथा पारिवारिक जीवनमा समेत ठूलो असर पारेको उनले बताइन् ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले दुई जिल्लाका व्यवसायीबीचको सम्बन्ध र सहकार्यलाई विपत्तिका बेला अझ मजबुत बनाउनुपर्ने बताए । ‘हामी दुई जिल्लाका व्यवसायी हौं । त्यहाँ पीडा हुँदा यहाँ पनि दुःखेको महसुस हुन्छ । त्यसैले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ भन्ने भावनासहित नुवाकोट आएका हौं,’ उनले भने ।
उनले नुवाकोट, रसुवा र धादिङमा बाढीका कारण प्रभावित होटल तथा पर्यटन व्यवसायी र उनीहरूका परिवारप्रति भावपूर्ण समवेदना व्यक्त गर्दै पीडित क्षेत्रका ब्यक्तिहरुलाई प्रथम चरणमा १०० जनालाई रोजगारी समेत दिने प्रतिबद्दता ब्यक्त गरे ।
उनले , संघका सल्लाहकार, तथा सफल व्यवसायी रबिनकुमार नाल्बोले प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले दुःख गरेर कमाएको रकमबाट सहयोग जुटाएर पठाएको उल्लेख गर्दै विपत्तिमा परेका व्यवसायीलाई साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरे ।
त्यस्तै संघका सल्लाहकार तथा एनआरएनएका प्रवक्ता सोम सापकोटाले विपत्तिमा परेका व्यवसायीको दुःखमा साथ दिनु सबैको दायित्व भएको बताए । होटल तथा पर्यटन क्षेत्रमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस्तो कठिन अवस्थामा एकअर्काको दुःखमा जोडिनु, सहानुभूति दिनु र सक्दो सहयोग गर्नु आवश्यक छ,’ उनले भने ।
संघले भोटेकोशी बाढीबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीलाई राहत पुर्याउने उद्देश्यले यसअघि पनि सहयोग जुटाउँदै आएको जनाएको छ । बाढीबाट नुवाकोट, रसुवा र धादिङलगायतका जिल्लामा होटल तथा पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको भन्दै संघले प्रभावित व्यवसायीको पुनःस्थापनाका लागि आगामी दिनमा समेत आबश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।
यस क्रममा जिल्ला होटल व्यवसायी संघ काठमाडौंले संघका सचिव कप्तान अधिकारीका भाइको निधनप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई आर्थिक सहयोग गरेको थियो ।






























