काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ का क्षेत्रीय उपसभापति सुबास लामाले पार्टीको आगामी अधिवेशनमा सहभागिता नजनाउने घोषणा गरेका छन्।
कांग्रेसको संस्थापन र इतर दुवै पक्षले अधिवेशनको मिति घोषणा गरे पनि आफू दुवै समूहको अधिवेशनमा सहभागी नहुने उनले स्पष्ट पारेका छन्।
पार्टीभित्र दलभन्दा दलाल सक्रिय भएको, विचारभन्दा स्वार्थ हाबी भएको तथा सेवाभन्दा पद र भागबन्डाको राजनीति बढ्दै गएको भन्दै लामाले यस्तो निर्णय लिएको बताएका छन्।
लामाले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, “पार्टीमा दलभन्दा दलालहरू सक्रिय भए, विचारभन्दा स्वार्थ हाबी भए, सेवाभन्दा दलमा पद र भागबन्डाको राजनीति देखिएपछि दलप्रति जनताको विश्वास होइन, आक्रोश मात्र देखियो।”
उनले पछिल्लो समय राजनीतिमा देखिएको प्रवृत्तिप्रति प्रश्न उठाउँदै पद र गुटको राजनीतिभन्दा बाहिर रहेर देश, समाज र जनताको सेवामा निरन्तर लाग्ने संकेत गरेका छन्।
“यस्तो राजनीतिमा अझै बसिरहने के हुन्छ? दलको राजनीतिभन्दा बाहिर रहेर, देश, समाज र जनताको लागि दिँदै आएको सेवालाई निरन्तर दिँदै बस्ने कि?” लामाले प्रश्न गरेका छन्।
जनताको विश्वास गुमाउँदै जाने राजनीति नभई जनताको दुःख बुझ्ने र देश निर्माणमा योगदान पुर्याउने राजनीति आवश्यक रहेको उनको भनाइ छ।
लामाले आफू पार्टीको अधिवेशनमा सहभागी नहुने बताए पनि नेपाली कांग्रेससँगको राजनीतिक सम्बन्ध पूर्ण रूपमा समाप्त गर्ने घोषणा भने गरेका छैनन्।
उनले आगामी संसदीय तथा स्थानीय तहको निर्वाचनमा आफू प्रत्यक्ष रूपमा संलग्न भएर पार्टीलाई सहयोग गर्ने बताएका छन्।
उनको यो निर्णयले दोलखा कांग्रेसभित्रको आन्तरिक राजनीति, गुटगत प्रतिस्पर्धा र नेतृत्व चयनको प्रक्रियामाथि थप बहस सिर्जना गरेको छ।
संस्थापन र इतर दुवै पक्षको अधिवेशनमा सहभागी नहुने लामाको अडानलाई आगामी अधिवेशनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।



























