काठमाडौं । भोटेकोशी नदीकाठमाडौं।मा आएको बाढीबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीका परिवारलाई जिल्ला होटल व्यवसायी संघ काठमाडौंले बुधबार राहत वितरण गर्ने भएको छ। हङकङमा रहेका सफल युवा व्यवसायी रविनकुमार नाल्बोले संकलन गरेको रकम र संघको पहलमा जुटाइएको राहत सामग्री प्रभावित परिवारलाई हस्तान्तरण गर्न लागिएको हो।
संघले ‘संकटमा साथ’ अभियानअन्तर्गत नुवाकोटको विदुरमा राहत वितरण कार्यक्रम आयोजना गर्न लागेको हो। बाढीका कारण घर तथा व्यवसाय गुमाएका परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःआयआर्जनमा जोड्ने उद्देश्यले संघले रोजगारीको कार्यक्रमसमेत अघि सारेको जनाएको छ।
संघका अध्यक्ष सुरेश बरालका अनुसार बाढीपीडित परिवारका १०० जनालाई होटल तथा पर्यटन क्षेत्रमा रोजगारी उपलब्ध गराइनेछ। प्रभावित परिवारलाई राहत दिएर मात्र नपुग्ने भएकाले उनीहरूलाई नियमित आयआर्जनमा जोड्ने उद्देश्यले रोजगारीको व्यवस्था गर्न लागिएको उनले बताए।
‘बाढीका कारण परिवारको व्यवसाय र रोजगारी गुमेको छ,’ बरालले भने, ‘तत्काल राहत आवश्यक भए पनि दीर्घकालीन रूपमा परिवारको आयआर्जन सुनिश्चित गर्नु जरुरी छ। त्यसैले प्रभावित परिवारका १०० जनालाई होटल तथा पर्यटन क्षेत्रमा रोजगारी दिने व्यवस्था मिलाउँदैछौं।’
राहत संकलनका लागि हङकङमा रहेका युवा व्यवसायी नाल्बोले विदेशमा रहेका नेपालीसँग समन्वय गरेका थिए। त्यहाँबाट संकलित रकम तथा सहयोगबाट जुटाइएको सामग्री संघको पहलमा प्रभावित परिवारसम्म पुर्याउन लागिएको हो।
संघका अनुसार घर परिवार , आफन्त गुमाएका प्रभावित परिवारका सदस्यलाई उनीहरूको सीप र क्षमताका आधारमा होटल तथा पर्यटन क्षेत्रमा रोजगारीमा जोडिनेछ। यसबाट बाढीपछि आयआर्जनको आधार गुमाएका परिवारलाई पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राहत वितरण कार्यक्रम बुधबार भदौ ३१ गते दिउँसो १ बजे नुवाकोटको विदुर–२ स्थित होटल स्क्वायरमा हुनेछ। कार्यक्रममा बाढीबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीका परिवारलाई राहत सामग्री हस्तान्तरण गरिने संघले जनाएको छ।
संघले प्राकृतिक विपत्तिमा परेका व्यवसायी परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै रोजगारीमार्फत दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।



























