काठमाडौं । मलेसिया रोजगारीको भर्ना प्रक्रियामा प्रस्तावित विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्ल्युसिएमएस) मा सीमित म्यानपावर कम्पनीको पहुँचलाई लिएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सिन्डिकेटविरुद्ध आवाज उठाइरहेको छ। तर संघले सिन्डिकेटमा जोडिएको विषयमा स्पष्टीकरण मागेका केहि म्यानपावर व्यवसायीबाट अहिलेसम्म जवाफ नआएको भन्दै संघभित्रै प्रश्न उठ्न थालेको छ।
संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलका अनुसार एफडब्ल्युसिएमएसमा सीमित म्यानपावर कम्पनीको नाम समावेश भएको र उनीहरूसँग अन्य व्यवसायीलाई सहायकका रूपमा जोडिएको विषयमा संघले चासो राख्दै आएको छ। यसै विषयमा सम्बन्धित व्यवसायीलाई आफ्नो भूमिका स्पष्ट पार्न स्पष्टीकरणसमेत मागिएको भए पनि अहिलेसम्म त्यसको जवाफ नआएको उनले बताए।
‘सिन्डिकेटविरुद्ध संघले स्पष्ट रूपमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छ,’ पौडेलले भने, ‘तर सिन्डिकेटको संरचनामा जोडिएको विषयमा स्पष्टीकरण मागिएका व्यवसायीबाट अहिलेसम्म जवाफ आएको छैन। किन जवाफ नआएको हो, यसको कारण के हो भन्ने प्रश्न व्यवसायीबीच उठेको छ।’
एफडब्ल्युसिएमएसमा हाल २५ वटा म्यानपावर कम्पनीको नाम समावेश भएको र ती कम्पनीमार्फत करिब २५० म्यानपावर कम्पनीलाई सहायकका रूपमा जोडिएको विषयले व्यवसायीबीच आशंका बढाएको पौडेलले बताए। सीमित कम्पनीलाई मुख्य भूमिकामा राखेर अन्य व्यवसायीलाई सहायकका रूपमा मात्र जोड्ने व्यवस्था भए त्यसले समान प्रतिस्पर्धाको वातावरण कमजोर पार्न सक्ने उनको भनाइ छ।
संघले सम्बन्धित व्यवसायीबाट स्पष्टीकरण माग्नुको उद्देश्य कसैलाई दोषी ठहर गर्नु नभई प्रणालीमा उनीहरूको भूमिका, पहुँच र संलग्नताको वास्तविकता स्पष्ट पार्नु रहेको जनाएको छ। तर स्पष्टीकरण मागिएको लामो समयसम्म पनि जवाफ नआएपछि त्यसले थप प्रश्न जन्माएको संघका पदाधिकारी बताउँछन्।
‘कानुनले सबै इजाजतप्राप्त म्यानपावर व्यवसायीलाई समान रूपमा व्यवसाय गर्ने अधिकार दिएको छ,’ पौडेलले भने, ‘भोलि कसैलाई सीमित समूहको चंगुलमा रहेर व्यवसाय गर्नुपर्ने अवस्था आउनु हुँदैन। त्यसैले सिन्डिकेटको पक्षमा कोही छ भने स्पष्ट रूपमा भन्नुपर्छ, होइन भने संघले मागेको स्पष्टीकरणको जवाफ दिनुपर्छ।’
मलेसिया रोजगारीको भर्ना प्रक्रियामा एफडब्ल्युसिएमएस लागू गर्ने विषयमा व्यवसायीबीच विवाद भइरहेका बेला संघले सबै व्यवसायीलाई एकजुट हुन आह्वान गर्दै आएको छ। पौडेलले संघको अभियानमा सबै व्यवसायी समान रूपमा सहभागी हुनुपर्ने भन्दै सिन्डिकेटविरुद्धको लडाइँमा मौन बस्नुको अर्थबारे पनि प्रश्न उठाएका छन्।
‘संघले सिन्डिकेटविरुद्ध आह्वान गर्दा सबै व्यवसायीको साथ आउनुपर्ने हो,’ उनले भने, ‘स्पष्टीकरण मागिएकै विषयमा जवाफ नआउनु र सिन्डिकेटविरुद्धको अभियानमा अपेक्षित साथ नदिनुको कारण के हो भन्ने स्पष्ट हुनुपर्छ। अब सबै व्यवसायी एक भएर सिन्डिकेट परास्त गर्न आवश्यक छ।’
मलेसिया रोजगारीको भर्ना प्रक्रियामा कुनै पनि सीमित समूहको नियन्त्रण वा एकाधिकार कायम हुनुहुँदैन। एफडब्ल्युसिएमएसमा रहेका कम्पनीको भूमिका, सहायकका रूपमा जोडिएका म्यानपावरको अवस्था र प्रणालीमा सबै व्यवसायीको समान पहुँचबारे स्पष्ट मापदण्ड सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।
संघले भने प्रणालीमा समान पहुँच, पारदर्शिता र प्रतिस्पर्धाको सुनिश्चितता नभएसम्म सिन्डिकेटविरुद्धको आफ्नो अभियान जारी राख्ने जनाएको छ।



























