काठमाडौं । कलंकी होटल एन्ड गेस्ट हाउस एसोसिएसनद्वारा संघमा आवद्ध होटल व्यवसायी तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषयमा एकदिने अभिमुखीकरण तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। हिजो माघ २ गते कलंकी स्थित होटल उलाजोमा आयोजित कार्यक्रम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको संघले जनाएको छ।
कार्यक्रमको सभापतित्व संघका अध्यक्ष रमेशकुमार बरालले गरेका थिए। कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, संघका पूर्व अध्यक्ष तथा सल्लाहकारहरूको पनि सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा सामाजिक सुरक्षा कोषका तर्फबाट वरिष्ठ सहायक निर्देशक जयकृष्ण दुलालले कोषको उद्देश्य, योगदान प्रणाली, लाभ तथा प्रक्रियाबारे विस्तृत जानकारी दिएका थिए। उनले होटल व्यवसायी तथा कर्मचारीका जिज्ञासाको स्पष्ट रूपमा उत्तर दिँदै सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने आवश्यकता र यसको दीर्घकालीन फाइदाबारे प्रकाश पारे।
कार्यक्रममा सहभागी व्यवसायी तथा कर्मचारीहरूले सामाजिक सुरक्षा कोषसम्बन्धी जानकारी उपयोगी भएको प्रतिक्रिया दिएका थिए। संघले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबै अतिथि, वक्ता तथा सहभागीप्रति विशेष आभार व्यक्त गरेको छ।




























