काठमाडौं। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम सञ्चालन गरी राष्ट्रिय उत्पादन तथा रोजगारीमा योगदान पुर्याएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले आवेदन आह्वान गरेको छ।
मन्त्रालयले “वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी बसेका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६” अनुसार योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। सूचनाअनुसार आवेदन फाराम प्रकाशित मितिले २१ दिनभित्र मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखामा दर्ता गराउन वा मन्त्रालयको इमेल info@moless.gov.np मा पठाउन सकिने र आवेदन फाराम तथा सम्बन्धित कार्यविधि मन्त्रालयको वेबसाइ www.moless.gov.np बाट डाउनलोड गर्न सकिने जनाइएको छ। थप जानकारीका लागि सोही वेबसाइट वा फोन नम्बर ०१–४५३२५००८८ मा सम्पर्क गर्न सकिने मन्त्रालयले सुचनामा उल्लेख गरेको छ।
सूचनाअनुसार आवेदकले कम्तीमा १ वर्ष वैदेशिक रोजगारीमा काम गरी स्वदेश फर्किएको हुनुपर्नेछ। साथै वैदेशिक रोजगारीबाट फर्केर नेपालमा व्यवसाय सञ्चालन गरेको कम्तीमा १ वर्ष पूरा भएको हुनुपर्ने र विगत ५ वर्षभित्र यस मन्त्रालयबाट सोही प्रकारको पुरस्कार प्राप्त नगरेको हुनुपर्ने योग्यता तोकिएको छ।
आवेदन फारामसँगै नेपाली नागरिकताको प्रमाणपत्र, श्रम स्वीकृति, भिसा सहितको राहदानी, व्यवसाय दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, गत आ।व। २०७९/०८० को कर चुक्ता प्रमाणपत्र तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा पत्र संलग्न गर्नुपर्नेछ। सबै कागजात प्रतिलिपिको हकमा स्वयंले प्रमाणित गरी पेश गर्नु पर्ने सूचनामा उल्लेख छ।
उद्यमी पुरस्कारका लागि छनोट गर्दा रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय स्रोत साधनको प्रयोग, उत्पादन निरन्तरता, सामाजिक दायित्व, वातावरणमैत्री प्रविधिको प्रयोग, प्रदूषण व्यवस्थापन तथा उद्यम सञ्चालन गरिएको भौगोलिक क्षेत्रलाई आधार मानी मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ।
यस कार्यक्रमबाट वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई प्रोत्साहन गर्दै स्वदेशमै उद्यमशीलता विकास गर्ने लक्ष्य लिइएको मन्त्रालयको भनाइ छ।




























