लन्डन । अन्तर्राष्ट्रिय कानुनविद् तथा लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले प्राकृतिक विपद्बाट प्रभावित नेपालको पुनःस्थापना र पुनर्निर्माणका लागि सहयोग जुटाउन बेलायतले लन्डनमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने प्रस्ताव गरेका छन्।
बेलायत नेपाल एकेडेमिक काउन्सिल (बीएनएसी)को २५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा बोल्दै सुवेदीले नेपालले भोगिरहेको विनाशकारी विपद्पछि पुनर्निर्माण र दीर्घकालीन उत्थानशीलताका लागि अन्तर्राष्ट्रिय समुदायलाई एकै ठाउँमा ल्याउन बेलायतले नेतृत्व लिनुपर्ने बताए।
उनका अनुसार सम्मेलनमा विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय वित्तीय संस्था, विकास साझेदार, निजी क्षेत्र तथा नागरिक समाजलाई सहभागी गराएर नेपालको पुनर्निर्माणका लागि आवश्यक स्रोत परिचालन गर्न सकिन्छ। यसबाट क्षतिग्रस्त घर, बस्ती, विद्यालय, अस्पताल, सडक, पुल, जलविद्युत् आयोजना लगायतका पूर्वाधार पुनर्निर्माणसँगै जलवायु उत्थानशीलतामा लगानी जुटाउन सहयोग पुग्ने उनले बताए।
सुवेदीले बेलायतले यसअघि अफगानिस्तान, सुडानलगायत मुलुकका लागि लन्डनमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी सहयोग परिचालन गरेको उल्लेख गर्दै नेपालका लागि पनि त्यस्तै पहल आवश्यक रहेको बताए। ‘नेपाल अहिले हिमालयन सुनामीका रूपमा वर्णन गरिएको विनाशकारी विपद्बाट पुनःउत्थानको प्रयासमा छ,’ उनले भने, ‘यस्तो अवस्थामा लामो समयदेखिको मित्रराष्ट्र बेलायतले पुनः नेतृत्व र ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर आएको छ।’
उनले प्रस्तावित सम्मेलनलाई जलवायु न्यायसँग जोड्नुपर्नेमा पनि जोड दिए। हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनका कारण हिमनदी पग्लने, अतिवृष्टि, बाढी, पहिरो तथा हिमाली विपद्को जोखिम नेपालले असमान रूपमा भोगिरहेको उनको भनाइ थियो।
कार्यक्रममा सांसद विदुषी रानाले नेपाललाई जलवायु वित्त, प्रभावकारी पूर्वसूचना प्रणाली तथा सीमापार तथ्यांक आदानप्रदानका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताइन्। बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले पनि जलवायु परिवर्तनका कारण हिमाली मुलुकले असमान प्रभाव भोगिरहेको उल्लेख गर्दै विपद्बाट प्रभावित परिवारको पुनःस्थापनाका लागि ठूलो लगानी आवश्यक रहेको बताए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सेप्टेम्बर २१ को विवरण उद्धृत गर्दै दुवाडीले विपद्मा १ हजार ४ सय ५१ जनाको मृत्यु र ५ हजार ७ सय ४५ जना बेपत्ता भएको जानकारी दिए।
डरहम विश्वविद्यालयका प्राध्यापक बेन क्याम्पबेलले पुनर्निर्माणलाई भौतिक पूर्वाधारमा मात्र सीमित नगरी विपद्को सामाजिक, सांस्कृतिक तथा मनोसामाजिक प्रभावलाई समेत सम्बोधन गर्नुपर्ने बताए। बीबीसी वर्ल्ड सर्भिसका विश्व वातावरण संवाददाता नवीन सिंह खड्काले हिमाली क्षेत्रमा जलवायुजन्य जोखिमको स्वरूप परिवर्तन भइरहेकाले जोखिम निगरानी र पूर्वसूचना प्रणालीलाई समयअनुकूल बनाउनुपर्नेमा जोड दिए।
बीएनएसीको २५औँ वार्षिकोत्सव कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष, विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताले नेपाल–बेलायतबीचको शैक्षिक तथा ज्ञान आदानप्रदानबारे धारणा राखेका थिए।




























