काठमाडौं । परराष्ट्र मन्त्रालय र राहदानी विभागले राहदानी सेवालाई थप सहज, छरितो र प्रविधिमैत्री बनाउन नयाँ प्रणाली भोली असार २९ गतेदेखि कार्यान्वयनमा ल्याउने भएको छ। नयाँ व्यवस्था लागू भएपछि नेपाली नागरिकले आफू जहाँ बसेको भए पनि पायक पर्ने जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन्।
शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ प्रणालीको प्राविधिक तथा प्रशासनिक तयारी करिब पूरा भएको जानकारी दिए।
प्रवक्ता क्षेत्रीका अनुसार सरकारले राहदानी सेवालाई समयसापेक्ष, भरपर्दो र जनमैत्री बनाउन तीनवटा मुख्य सुधार अघि बढाएको छ। पहिलो, छापिएका राहदानी सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा छिटो पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। यसबाट राहदानी वितरण प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
दोस्रो, नागरिकले आफ्नै गृहजिल्ला पुग्नुपर्ने बाध्यता हटाउँदै देशको जुनसुकै स्थानबाट आफूलाई पायक पर्ने जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमार्फत राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था कार्यान्वयनमा ल्याइँदै छ।
तेस्रो, राहदानी सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री, भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यले नयाँ प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ।
नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र राहदानी विभाग प्रतिबद्ध छन्। राहदानीको प्रणाली परिवर्तन गरी २०८३ असार २९ गतेदेखि लाइभ गर्ने तयारी गरिएको प्रवक्ता क्षेत्रीले बताए।



























