काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा १५औँ नेपाल फेस्टिवल–२०२६ शनिबारदेखि जापानको टोकियोस्थित ओडाइबाको शिओकाजे पार्कमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने महोत्सव सोमबारसम्म जारी रहनेछ।
नेपाली कला, संस्कृति, पर्यटन, परम्परा र नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको फेस्टिवलमा जापानमा रहेका नेपाली समुदायका साथै जापानी नागरिकहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
फेस्टिवलमा नेपाली लोक तथा सांस्कृतिक नृत्य, संगीत प्रस्तुति, राष्ट्रिय पोशाक प्रदर्शन, नेपाली परिकारका स्टल, हस्तकला प्रदर्शनी तथा नेपाल भ्रमण प्रवर्द्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम समावेश गरिएको छ। ४० भन्दा बढी स्टलमार्फत नेपालका कला, संस्कृति, व्यवसाय र पर्यटनलाई प्रवर्द्धन गर्ने प्रयास गरिएको छ।
एनआरएनए जापानका अनुसार नेपाल र जापानबीच सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने, नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने तथा जापानी नागरिकलाई नेपालको पर्यटन र सांस्कृतिक विविधतासँग परिचित गराउने उद्देश्यले फेस्टिवल आयोजना गरिएको हो।
फेस्टिवलमा नेपाल तथा जापानका विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा समुदायबीच आपसी सद्भाव र सहकार्य अभिवृद्धि गर्ने विविध गतिविधिहरू पनि सञ्चालन भइरहेका छन्।



























