काठमाडौं । भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाली जनसम्पर्क समिति जर्मनीले सहयोग अभियान अघि बढाएको छ।
नेपाली कांग्रेसले भोटेकोशी बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूले समेत सहयोग जुटाउन थालेका छन्।
सोही प्रतिबद्धताअनुसार नेपाली जनसम्पर्क समिति जर्मनीले पहिलो चरणमा ५ लाख रुपैयाँ सहयोग गर्ने तयारी गरिरहेको समितिले जनाएको छ।
यसै क्रममा समितिका संस्थापक सभापति दिलबहादुर गुरुङले व्यक्तिगत रूपमा २ लाख रुपैयाँ सहयोग गर्नुभएको छ।
विपद्को समयमा प्रभावित तथा समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आउनुभएका गुरुङले भोटेकोशी बाढीपहिरोपीडितका लागि तत्काल व्यक्तिगत सहयोग प्रदान गर्नुभएको हो।
सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै आउनुभएका गुरुङले विपद् तथा समस्यामा परेका नेपालीहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै आउनुभएको छ।
समितिका संयोजक विजय मोक्तानले सहयोग अभियानमा साथ दिने सम्पूर्ण दाता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले विपद्को यस कठिन घडीमा सबैले आआफ्नो स्थानबाट सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ।
यसैबीच, भोटेकोशी बाढीपहिरोमा परी ज्यान गुमाएका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै आगामी १४ सेप्टेम्बरमा जर्मनीको NRW अन्तर्गत Essen शहरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।
दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
नेपाली जनसम्पर्क समिति जर्मनीले कार्यक्रममा जर्मनीमा रहेका सम्पूर्ण नेपाली समुदायको सहभागिताका लागि आग्रह गरेको छ।


























