काठमाडौं । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीमार्फत ७ लाख ९२ हजार १ सय ८७ जना नेपाली श्रमिक विदेशिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यस अवधिमा एसओएस म्यानपावर सर्भिस प्रालि सबैभन्दा धेरै श्रमिक विदेश पठाउने म्यानपावर कम्पनी बनेको छ।
विभागका अनुसार एसओएस म्यानपावरले एक वर्षमा ४ हजार ७ सय ८२ जना श्रमिक विभिन्न गन्तव्य मुलुकमा पठाएको छ। नीलकमल ह्युमन रिसोर्स प्रालिले ४ हजार १६ जना श्रमिक पठाउँदै दोस्रो स्थान हासिल गरेको छ भने प्याराडाइज इन्टरनेसनल प्रालि ३ हजार ७ सय ४६ जना श्रमिक पठाएर तेस्रो स्थानमा रहेको छ।
क्रमश: इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले २ हजार ७ सय ७८,मोन्टेज ओभरसिज प्रालिले २ हजार ४ सय ३६ तथा गल्फ म्यानपावर सर्भिसेस प्रालिले २ हजार २ सय ६४ जना श्रमिक वैदेशिक रोजगारीमा पठाएका छन्।
यस्तै, द रिभर ओभरसिज प्रालिले २ हजार २ सय २२ लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालिले २ हजार २ सय २ एससीसी म्यानपावर कम्पनी प्रालिले २ हजार ६४ र लुलु इन्टरनेसनल प्रालिले २ हजार २३ जना श्रमिक विदेश पठाउँदै शीर्ष १० मा स्थान बनाउन सफल भएका छन्।
विभागको तथ्यांकले गत आर्थिक वर्ष १ हजार ९ वटा म्यानपावर कम्पनीले श्रमिक विदेश पठाएको देखाएको छ। तीमध्ये ४५ वटा म्यानपावर कम्पनीले एक हजारभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा पठाएका छन्। यसले वैदेशिक रोजगारीको बजारमा सीमित ठूला म्यानपावर कम्पनीको प्रभाव अझै बलियो रहेको संकेत गरेको छ।
पछिल्ला वर्षहरूमा श्रम गन्तव्य मुलुकको विस्तार, वैदेशिक रोजगारी प्रति युवाको आकर्षणका कारण श्रमिकको विदेश जाने क्रम बढिरहेको विभागको तथ्यांकले देखाएको छ। यस प्रकारको तथ्यांक आईरहदा श्रमिकको सुरक्षा तथा वैदेशिक रोजगार ऐनको प्रभावकारी कार्यान्वयनलाई पनि उत्तिकै महत्व दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।


























