काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित समसामयिक, संवेदनशील तथा नीतिगत विषयमा साझा धारणा निर्माण गर्दै आगामी रणनीति र कार्यदिशा तय गर्न भोलि (बिहीबार) काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा व्यवसायीहरूको बृहत् भेला आयोजना गर्ने भएको छ।
संघका महासचिव हिरा बहादुर डाँगी (हरि) का अनुसार भेलामा वैदेशिक रोजगार क्षेत्रका पछिल्ला चुनौती, सरकारी नीतिगत निर्णय तथा व्यवसायीले उठाउँदै आएका विभिन्न विषयमा विस्तृत छलफल हुने उल्लेख गरेका छन्। । विशेषगरी वैदेशिक रोजगार विभागले ५९८ इजाजतपत्र प्राप्त संस्थामाथि अघि बढाएको कारबाही, साउदी अरेबियाको एसभीपी (SVP) प्रणालीसँग सम्बन्धित भनिएको अनधिकृत गतिविधि, विभागीय कार्यशैलीप्रति व्यवसायीका गुनासा, कामदारको लागत निर्धारण तथा सेवा शुल्कका विषय प्रमुख एजेन्डाका रूपमा रहने भनिएको छ ।
भेलामा वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधार, व्यवसाय सञ्चालनमा देखिएका समस्या, आगामी रणनीति, कार्यदिशा तथा आवश्यक परे संघर्षका कार्यक्रमबारे समेत विस्तृत छलफल गरी साझा धारणा तय गरिने संघले जनाएको छ।
महासचिव डाँगीका अनुसार विभागीय कारबाही, सेवा शुल्क, नीतिगत व्यवस्थालगायत विषयले पछिल्लो समय वैदेशिक रोजगार व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको भन्दै त्यसबारे व्यवसायीहरूको साझा निष्कर्ष र भावी रणनीति तय गर्न बृहत् भेला आयोजना गरिएको उल्लेख गरेका छन्।
संघले भेलामा सहभागी भई वैदेशिक रोजगार क्षेत्रका साझा एजेन्डामा एकीकृत धारणा निर्माण गर्न सबै इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ। साथै, भेलाबाट वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा आगामी कार्ययोजना र आवश्यक परे संघर्षका कार्यक्रमसमेत तय हुन सक्ने अपेक्षा गरिएको छ।


























