काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी जनवरीमा आयोजना गर्ने चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को तयारीलाई तीव्र बनाएको छ। सम्मेलनको तयारी, सरकारसँगको सहकार्य तथा गैरआवासीय नेपालीको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकाससँग जोड्ने विषयमा एनआरएनएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाल तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ।
भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सम्मेलनको अवधारणापत्र (कन्सेप्ट पेपर) प्रस्तुत गर्दै विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीको ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपाल सरकारका विकास प्राथमिकतासँग जोड्ने कार्ययोजनाबारे जानकारी गराएका थिए।
उनले सम्मेलनलाई औपचारिक छलफलमा सीमित नराखी नेपाल सरकार, शैक्षिक तथा अनुसन्धान संस्था, निजी क्षेत्र र विश्वभर रहेका नेपाली विज्ञबीच दीर्घकालीन तथा परिणाममुखी सहकार्यको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
प्रतिनिधिमण्डलमा एनआरएनएका उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राई, उपमहासचिव कृष्ण पोखरेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्र सहभागी थिए।
परराष्ट्रमन्त्री खनालले सन् २०१८ मा आयोजित पहिलो विश्व नेपाली ज्ञान सम्मेलनमा आफ्नो सहभागिता स्मरण गर्दै यस्ता सम्मेलनले नेपाल र विश्वभर रहेका नेपाली विज्ञबीच ज्ञान आदानप्रदान तथा सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ सफल बनाउन नेपाल सरकार आवश्यक सहकार्य गर्न पूर्ण रूपमा सकारात्मक रहेको बताए।
भेटका क्रममा रोजिना प्रधान राईले गैरआवासीय नेपाली नागरिकता ऐनको कार्यान्वयन, त्यससँग सम्बन्धित कानुनी तथा व्यवहारिक समस्या र एनआरएन ऐनलाई यथाशीघ्र अन्तिम रूप दिनुपर्ने आवश्यकताबारे सरकारको ध्यानाकर्षण गराइन्। ऐन संशोधनमा समय लागे मन्त्रिपरिषद्को निर्णयमार्फत जग्गा, लगानी, बैंकिङ, भिसा तथा सवारी चालक अनुमतिपत्रलगायतका सुविधा तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै त्यसका लागि एनआरएनए आवश्यक प्राविधिक सहयोग गर्न तयार रहेको उनले बताइन्।
जवाफमा परराष्ट्रमन्त्री खनालले गैरआवासीय नेपालीसँग सम्बन्धित सम्पत्ति, लगानी तथा भिसासम्बन्धी केही कानुनी व्यवस्थामा आवश्यक संशोधन गर्ने तयारी भइरहेको जानकारी दिँदै त्यसबाट नेपालमा लगानी तथा आर्थिक गतिविधिका लागि थप सहज वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।
यसैबीच, प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराईसँग पनि भेट गरी विश्व ज्ञान सम्मेलन–२०२७ को तयारी, नेपाल सरकार र एनआरएनएबीचको समन्वय, नेपाली डायस्पोराको ज्ञान र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्ने विषय तथा आगामी युरोप र एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारीबारे छलफल गरेको छ।
यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँगको भेटमा सम्मेलनको अवधारणापत्र प्रस्तुत गर्दै नवप्रवर्तन, अनुसन्धान, प्रविधि विकास तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा सम्मेलनले योगदान पुर्याउने विषयमा छलफल भएको थियो।
मन्त्री पुनले विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्यमीको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग प्रभावकारी रूपमा जोड्नुपर्नेमा जोड दिँदै ज्ञान हस्तान्तरण, अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्य तथा नवप्रवर्तन प्रवर्द्धनमा एनआरएनएको भूमिका महत्वपूर्ण रहने बताए।
उनले ब्रेन गेन सेन्टर पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिँदै विश्वभर फैलिएको नेपाली डायस्पोराको बौद्धिक तथा व्यावसायिक क्षमतालाई नेपालको समृद्धि र दिगो विकासमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
एनआरएनएका अनुसार चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ मार्फत विश्वभर रहेका नेपालीको ज्ञान, अनुसन्धान, नवप्रवर्तन, प्रविधि, सीप र अनुभवलाई नेपालको सुशासन, आर्थिक रूपान्तरण तथा दिगो विकासका राष्ट्रिय प्राथमिकतासँग जोड्दै नेपाल सरकार, शैक्षिक तथा अनुसन्धान संस्था, निजी क्षेत्र र नेपाली डायस्पोराबीच दीर्घकालीन सहकार्यको आधार निर्माण गर्ने लक्ष्य राखिएको छ।
एनआरएनएले यसअघि सन् २०१८, २०२० र २०२३ मा क्रमशः पहिलो, दोस्रो र तेस्रो विश्व नेपाली ज्ञान सम्मेलन सफलतापूर्वक आयोजना गरिसकेको छ। ती सम्मेलनबाट प्राप्त अनुभव र उपलब्धिलाई आधार बनाउँदै चौथो संस्करण आगामी जनवरीमा आयोजना गर्ने तयारी भइरहेको संघले जनाएको छ।



























