काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका–७ ले काठमाडौंमा सञ्चालन गरेको एकहप्ते सेवा शिविर सम्पन्न गरेको छ।
शैलुङ गाउँपालिका–७ स्थायी ठेगाना भई विभिन्न पेशा, व्यवसाय तथा अन्य कारणले काठमाडौंमा बसोबास गर्दै आएका नागरिकलाई सहज र सरल ढंगले सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको वडा अध्यक्ष सुजन खड्काले बताए।
शिविरमार्फत जन्म, विवाह तथा मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरणलगायतका पञ्जीकरणसम्बन्धी सेवाहरू उपलब्ध गराइएको थियो।
काठमाडौंमै स्थानीय तहबाट पञ्जीकरणलगायतका सेवा पाएपछि सेवाग्राही नागरिकहरूले संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकार जनमैत्री र जनपक्षीय बन्दै गएको महसुस भएको बताएका छन्।
विशेषगरी वर्षातको समयमा काठमाडौंलगायत विभिन्न स्थानबाट शैलुङ गाउँपालिका–७ सम्म पुगेर सेवा लिनुपर्ने बाध्यता हटेको प्रती नागरिकहरूले खुसी व्यक्त गरेका छन्। बिरामी, ज्येष्ठ नागरिक तथा अशक्त नागरिकका लागि काठमाडौंमै सञ्चालन गरिएको शिविर अझ बढी लाभदायक भएको सेवाग्राहीहरूको भनाइ छ।
स्थानीय सरकारबाट नागरिकको सहजता र आवश्यकतालाई ध्यानमा राखेर काठमाडौंमै सेवा उपलब्ध गराउने प्रयासले समय, खर्च र यात्राको झन्झटसमेत कम भएको उनीहरूले बताएका छन्।



























