काठमाडौं । साउन १९ – नेपाली कांग्रेस दोलखाका पूर्व पार्टी सभापति ताराबहादुर कोइरालाले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले वर्तमान नेतृत्व तथा इतर समूह दुवैप्रति असन्तुष्टि जनाउँदै जनताको अपेक्षाअनुसार पार्टी अघि बढ्न नसकेको टिप्पणी गरेका छन्।
कोइरालाले विगतका तिक्तता र विवादलाई पछाडि छाडेर संगठनलाई बलियो बनाउने दिशामा सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताए। पार्टीभित्र सबैलाई समान अवसर, जिम्मेवारी र सम्मान दिने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए।
उनले आफू पद वा व्यक्तिगत स्वार्थका लागि राजनीति नगरेको उल्लेख गर्दै पार्टीको संस्थागत विकास, विधि–पद्धतिको पालना र संगठन सुदृढीकरण आफ्नो प्राथमिकता रहेको बताए। पार्टीभित्र देखिएका असन्तुष्टि र मतभेदलाई संवाद तथा सहमतिका आधारमा समाधान गर्नुपर्ने उनको भनाइ छ।
कोइरालाका अनुसार कांग्रेसभित्रको गुटबन्दीले संगठन कमजोर बनाएको छ। त्यसैले व्यक्तिकेन्द्रित राजनीति होइन, नीति, विधि र स्पष्ट कार्ययोजनाका आधारमा पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए।
उनले गगन थापा नेतृत्वको समूह जनताको हितभन्दा स्वार्थकेन्द्रित राजनीतिमा बढी केन्द्रित देखिएको आरोप लगाए। साथै, कांग्रेसभित्रका इतर समूहका नेताहरूसँग पनि देश निर्माण, पार्टी सुदृढीकरण र जनअपेक्षा सम्बोधन गर्ने स्पष्ट खाका तथा दीर्घकालीन दृष्टिकोण देखिन नसकेको उनको दाबी छ।
पूर्व सभापति कोइरालाले योग्य र सक्षम नेता–कार्यकर्तालाई जिम्मेवारी दिने परिपाटी विकास गर्नुपर्नेमा जोड दिँदै व्यक्तिगत पद र शक्ति प्राप्तिको प्रतिस्पर्धाभन्दा जनताको हित, सुशासन र विकासलाई केन्द्रमा राखेर कांग्रेसले नयाँ कार्यदिशा तय गर्नुपर्ने बताए। नेपाली कांग्रेसलाई थप एकताबद्ध, प्रभावकारी र जनविश्वास योग्य बनाउन सबै पक्षले साझा प्रयास गर्नुपर्ने उनको भनाइ छ।




























