काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(NATTA) को अध्यक्ष पदका उम्मेदवार भरत जंग पाण्डेले नाट्टालाई पूर्ण रूपमा व्यावसायिक, सदस्यमुखी र प्रभावकारी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै पाण्डेले नाट्टा कुनै राजनीतिक स्वार्थभन्दा माथि उठेर पर्यटन व्यवसायीहरूको साझा संस्था बन्नुपर्ने बताए। संस्थाको मुख्य उद्देश्य सदस्यहरूको हक, हित र व्यवसायिक अधिकारको संरक्षण तथा प्रवर्द्धन हुनुपर्ने उनको धारणा छ।
उनले आफ्नो टोलीमा पर्यटन क्षेत्रमा दशकौँदेखि योगदान दिएका अनुभवी व्यवसायीहरूसँगै नयाँ पुस्ताका ऊर्जाशील व्यवसायीलाई पनि समेटिएको उल्लेख गर्दै अनुभव र ऊर्जाको संयोजनबाट नाट्टालाई थप सशक्त बनाइने बताए।
पाण्डेका अनुसार पर्यटन उद्योगले सामना गरिरहेका नीतिगत तथा व्यावसायिक समस्याको समाधानका लागि सरकारसँग प्रभावकारी समन्वय, व्यवसायमैत्री नीति निर्माणमा पहल तथा सदस्यका समस्यालाई प्राथमिकताका साथ उठाउने योजना रहेको छ।
दुई दशकभन्दा बढी समयदेखि पर्यटन, हस्पिटालिटी र एमआईसीई (MICE) क्षेत्रमा सक्रिय पाण्डे Everest Miracle Travels & Tours का संस्थापक निर्देशक तथा Gallery Park Hotel का प्रमुख कार्यकारी अधिकृत (CEO) हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट MTTM, पोखरा विश्वविद्यालयबाट BHM तथा UNWTO–IFT, मकाउबाट पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन गरेका छन्।
नाट्टाको पूर्व कार्यसमिति सदस्यसमेत रहेका पाण्डेले सचिवालय आधुनिकीकरणलगायत संस्थागत सुधारमा भूमिका खेलेको उल्लेख गर्दै अब सदस्यकेन्द्रित, पारदर्शी र सशक्त नाट्टा निर्माण आफ्नो प्राथमिकता रहेको बताए।
“कुनै पनि संस्था आफ्ना सदस्यहरूको हक र हितको संरक्षणका लागि स्थापना हुन्छ। त्यसैले नाट्टाले पनि सम्पूर्ण सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ,” पाण्डेले भने।



























