काठमाडौं । जब्स सर्च प्रालिका प्रबन्ध निर्देशक सुरेश शर्मा ढकालले वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन संघले गरेका निर्णयको कार्यान्वयनमा सबै व्यवसायी एकताबद्ध हुनुपर्ने बताएका छन्।
ढकालले संघको नेतृत्वले सामूहिक हितलाई केन्द्रमा राखेर गरेका निर्णयलाई सबै व्यवसायीले सम्मान गर्दै साथ र समर्थन गर्नुपर्ने बताए। व्यक्तिगत स्वार्थ वा व्यक्तिगत गतिविधिका कारण संघको सामूहिक निर्णय कमजोर पार्न नहुने उनको भनाइ छ।
उनका अनुसार कतिपय व्यवसायीको टिकट बनिसकेको, उडानको समय तय भइसकेको वा पूर्वनिर्धारित व्यावसायिक प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता हुन सक्छ। यस्तो अवस्थामा देखिने व्यावहारिक कठिनाइलाई अलग रूपमा बुझ्नुपर्ने भए पनि संघको निर्णयलाई कमजोर पार्ने उद्देश्यले जानाजानी निर्णयविपरीत गतिविधि गर्नु उचित नहुने उनले बताए।
“संघले गरेको निर्णयलाई सबै व्यवसायीले साथ दिनुपर्छ। व्यावसायिक बाध्यताका कारण तत्काल निर्णय कार्यान्वयन गर्न नसक्ने अवस्था हुन सक्छ, तर संघको सामूहिक निर्णयलाई कमजोर बनाउने गरी व्यक्तिगत रूपमा अघि बढ्नु हुँदैन,” ढकालले भने।
ढकालले वैदेशिक रोजगार व्यवसायीहरूलाई ‘लुट्न पाउनुपर्छ’ भन्ने प्रचार गलत भएको दाबी गर्दै व्यवसायीहरू पनि व्यवस्थित, पारदर्शी र मर्यादित वैदेशिक रोजगारको पक्षमा रहेको बताए।
“व्यवसायीले ठूलो लगानी गरेर व्यवसाय सञ्चालन गरेका छन्। लुकीछिपी, चोरीचकारी वा भागदौडको शैलीमा होइन, व्यवस्थित र मर्यादित रूपमा व्यवसाय गर्न पाउने वातावरण हुनुपर्छ,” उनले भने।
वैदेशिक रोजगार क्षेत्रमा श्रमिक, नेपाल सरकारका सम्बन्धित निकाय, रोजगारदाता कम्पनी र व्यवसायी सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा पनि उनले जोड दिए। सबै पक्षले आफ्नो दायित्व जिम्मेवारीपूर्वक निर्वाह गरे मात्रै वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सकिने उनको भनाइ छ।
ढकालले नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले छिमेकी तथा प्रतिस्पर्धी मुलुकहरूको अभ्यासलाई समेत ध्यान दिनुपर्ने बताए। खाडी तथा मलेसियालगायतका प्रमुख श्रम गन्तव्यमा भारत, पाकिस्तान, फिलिपिन्स र बंगलादेशसँग नेपालको प्रतिस्पर्धा रहेकाले नेपालको वैदेशिक रोजगार प्रणालीलाई समयअनुकूल र प्रतिस्पर्धी बनाउन आवश्यक रहेको उनले बताए।
उनका अनुसार श्रमिकको हित र व्यवसायीको लगानीलाई सन्तुलनमा राख्दै स्पष्ट, पारदर्शी र व्यवहारिक नीति निर्माण गर्न सके मात्रै वैदेशिक रोजगार क्षेत्र दीर्घकालीन रूपमा व्यवस्थित र मर्यादित बन्न सक्छ।




























