काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार बोर्डको सचिवालयका नवनियुक्त कार्यकारी निर्देशक निर्मल कुमार उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
हिजो युवा, श्रम तथा रोजगार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण गर्दै उप्रेतीले नेपालको संविधान तथा प्रचलित कानुनको पालना गर्दै आफूलाई प्राप्त जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदपूर्तिका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले आवेदन आह्वान गरी छनोट प्रक्रिया अघि बढाएको थियो। छनोट प्रक्रियाबाट सिफारिस भएका उप्रेतीलाई साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
मानवअधिकार, आप्रवासन, सुशासन, शान्ति निर्माण तथा न्यायमा पहुँचका क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय उप्रेतीसँग वैदेशिक रोजगार तथा आप्रवासन क्षेत्रमा समेत काम गरेको अनुभव छ। उनले यसअघि वैदेशिक रोजगार बोर्डअन्तर्गतको आप्रवासी स्रोत केन्द्रको व्यवस्थापकका रूपमा जिम्मेवारी सम्हालेका थिए।
त्यस्तै, उप्रेतीले प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का उपकार्यक्रम निर्देशक तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा मानवअधिकारसम्बन्धी जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
बोर्डको कार्यकारी निर्देशकका रूपमा उप्रेतीको नियुक्तिसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकको हकहित संरक्षण, कल्याणकारी कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा आप्रवासी श्रमिकसँग सम्बन्धित सेवाप्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।


























