काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि बुधबार पदबहाली गरेका नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरेको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले सात जना व्यवसायीलाई सल्लाहकार चयन गर्नुका साथै चार जनालाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ।
एसोसिएसनका निवर्तमान अध्यक्ष दीपक थापासहित तीर्थबहादुर गुरुङ, शंकरप्रसाद आचार्य, देवीप्रसाद काफ्ले, तारा रेग्मी, नवलकिशोर यादव र कमलदेव मल्ललाई सल्लाहकार चयन गरेको हो।
त्यस्तै, प्रेमबहादुर मगर, दीपककुमार देव, धर्मानन्द कोइराला (रविन) र खडानन्द घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ।
एसोसिएसनले नेपाली कांग्रेसका मूल्य, मान्यता र सिद्धान्तप्रति अडिग रहँदै संस्थाको उद्देश्य तथा कार्यसमितिलाई आवश्यक सल्लाह, सुझाव र मार्गदर्शन प्रदान गर्न सल्लाहकार चयन गरिएको जनाएको छ। सल्लाहकारका रूपमा चयन भएका व्यवसायीहरूको अनुभवबाट संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।
त्यस्तै, मनोनीत कार्यसमिति सदस्यहरूले संस्थाको उद्देश्यअनुरूप व्यवसायीका समस्या समाधान तथा हकहित संरक्षणका लागि भूमिका निर्वाह गर्ने एसोसिएसनले जनाएको छ।
अध्यक्ष गैरे र महासचिव सुमनराज पाण्डेले नवनियुक्त सल्लाहकार तथा मनोनीत कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
उच्च अदालत पाटनको आदेशपछि अध्यक्ष गैरेले बुधबार पदबहाली गरेका थिए। त्यसलगत्तै बसेको कार्यसमिति बैठकले सल्लाहकार चयन र कार्यसमिति सदस्य मनोनयनलगायतका निर्णय गरेको हो।



























