काठमाडौं -नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरेले अहिले वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलनमा रहेका बेला संगठन विस्तार र आन्तरिक विवादभन्दा व्यवसायीका वास्तविक समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन्।
अध्यक्ष गैरेले लोकतान्त्रिक एसोसिएसनको मूल उद्देश्य नै वैदेशिक रोजगार व्यवसायको वास्तविकता बुझेर व्यवसायीको हकहितका लागि आवाज उठाउनु रहेको स्पष्ट पारे। उनका अनुसार राज्यले व्यवसायीका समस्या र व्यवहारिक कठिनाइलाई सम्बोधन नगर्दा व्यवसाय सञ्चालन गर्ने वातावरण नै चुनौतीपूर्ण बन्दै गएको छ।
“लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको उत्पत्तिको मूल मर्म नै व्यवसायको हकहितमा काम गर्नु हो। संगठनले राम्रो काम गर्दा साथ दिने र गलत बाटोमा जाँदा खबरदारी गर्ने हाम्रो जिम्मेवारी हो,” गैरेले भने।
अहिलेको समय संगठनभित्र कसले नेतृत्व गर्ने वा कसलाई अगाडि बढाउने भन्ने विषयमा विवाद गर्नेभन्दा वैदेशिक रोजगार व्यवसायीका तत्कालीन समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्ने समय भएको बताए।
गैरेका अनुसार वैदेशिक रोजगार विभागलगायत राज्यका निकायबाट व्यवसायीले भोग्दै आएका समस्या, कानुनी तथा प्रशासनिक जटिलता र राज्यको अपेक्षा तथा व्यवसायको वास्तविकताबीच देखिएको अन्तरलाई गम्भीर रूपमा सम्बोधन गर्न आवश्यक छ। “एक्सपेक्टेसन र रियालिटीबीच ठूलो अन्तर छ। राज्यले व्यवसायीबाट गर्ने अपेक्षा एउटा छ, तर व्यवसाय सञ्चालनको वास्तविक अवस्था अर्कै छ। यो विषयलाई राज्यले बुझ्नुपर्छ,” उनले भने।
एसोसिएसनभित्र रहेका असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष गैरेले वैदेशिक रोजगार व्यवसायीको हितमा काम गर्ने सबैलाई एउटै मूलधारमा ल्याउन आफूहरू तयार रहेको बताए। संगठनमा आबद्ध व्यक्तिहरूबीचको मतभेदभन्दा व्यवसायीको साझा मुद्दालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
हाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अघि बढाएको आन्दोलनप्रति पनि लोकतान्त्रिक एसोसिएसन सकारात्मक रहेको गैरेले बताए। उनका अनुसार संघले व्यवसायीका वास्तविक समस्या उठाएर राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले अघि बढेको अवस्थामा एसोसिएसनले आवश्यक सहयोग र सहकार्य गर्नेछ।
“संघलाई छातासंगठनका रूपमा मान्ने कुरामा लोकतान्त्रिक एसोसिएसन चुक्दैन। संघले व्यवसायीको हितमा उठाएका जायज विषयमा हामी साथ दिन्छौँ। अहिले सबै मिलेर एउटै बास्केटबाट व्यवसायीका समस्या समाधानका लागि आवाज उठाउने समय हो,” गैरेले भने।
तर आन्दोलन वा संगठनको नाममा व्यवसायीको हितविपरीत कुनै गतिविधि वा भित्री स्वार्थ देखिएमा भने एसोसिएसनले त्यसलाई समर्थन नगर्ने उनको चेतावनी छ। व्यवसायीको मुद्दाबाट संगठन विचलित भए खबरदारी गर्ने र आवश्यक परे आफ्नो धारणा स्पष्ट रूपमा राख्ने उनले बताए।
गैरेले व्यवसायीको समस्या समाधानका लागि राज्यसँग निरन्तर संवाद र दबाब दुवै आवश्यक रहेको उल्लेख गर्दै वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित, पारदर्शी र व्यवसायीमैत्री बनाउन स्पष्ट नीति तथा व्यवहारिक कार्यान्वयनको आवश्यकता औँल्याए।
उनका अनुसार अहिलेको प्राथमिकता कुनै व्यक्ति वा संगठन विशेषको पक्ष–विपक्षमा उभिनुभन्दा समग्र वैदेशिक रोजगार व्यवसायको संरक्षण, व्यवसायीको सम्मान र राज्यबाट न्यायोचित व्यवहार सुनिश्चित गर्नु हो।
“व्यवसायीको मुद्दामा संघ अगाडि बढ्छ भने हामी साथमा हुन्छौँ। तर व्यवसायीको हितविपरीत जाने अवस्था आयो भने लोकतान्त्रिक एसोसिएसन चुप लागेर बस्दैन। व्यवसायको हितमा हाम्रो खबरदारी निरन्तर रहन्छ,” अध्यक्ष गैरेले स्पष्ट पारे।


























