काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित, पारदर्शी र उत्तरदायी बनाउन नीतिगत सुधार आवश्यक रहेको भन्दै सम्पूर्ण व्यवसायीलाई संघको सामूहिक निर्णय कार्यान्वयन गर्न अपिल गरेको छ।
संघले विद्यमान ऐन तथा कानुनमा रहेका त्रुटिपूर्ण प्रावधान संशोधन, श्रमिकको लागत तथा सेवा शुल्कको वैज्ञानिक र व्यावहारिक निर्धारण तथा व्यवसायीले पाउने सेवा शुल्कको उचित व्यवस्थापन नभएसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
संघले साउन ७ गते बिहीबार आयोजना गरेको आम व्यवसायी भेलाबाट सम्पूर्ण व्यवसायीको राय, सुझाव र म्यान्डेट लिएको थियो। व्यवसायीबाट प्राप्त सामूहिक सुझावका आधारमा आवश्यक नीतिगत सुधार नभएसम्म श्रमिक पठाउने कार्य स्थगित गर्ने निर्णय गरिएको संघले जनाएको छ।
संघका अनुसार उक्त निर्णय कुनै व्यक्ति, संस्था वा सरकारप्रति लक्षित नभई व्यवसायीको पेसागत सम्मान, श्रमिकको हित तथा वैदेशिक रोजगार क्षेत्रको दीर्घकालीन सुधारका लागि चालिएको सामूहिक कदम हो।
संघले लामो समयदेखि व्यवसायीहरूले नीतिगत सुधारको माग गर्दै आए पनि सर्वपक्षीय छलफल र सर्वस्वीकार्य नीतिको निर्माणलाई प्राथमिकता नदिई दण्ड–सजायको दायरा विस्तार गर्दै नियमनमुखी नियमको बाटो अवलम्बन गरिएकाले अहिलेको परिस्थिति सिर्जना भएको जनाएको छ।
समस्याको दीर्घकालीन समाधानका लागि व्यावहारिक नीति, स्पष्ट कानुन, वैज्ञानिक शुल्क निर्धारण तथा प्रभावकारी नियमन आवश्यक रहेको संघको भनाइ छ। यस्तो अभियानलाई सफल बनाउन व्यवसायीबीच एकता, अनुशासन र इमानदारी नै महत्वपूर्ण शक्ति हुने संघले जनाएको छ।
संघले आफ्नो निर्णयलाई पूर्ण रूपमा आत्मसात् गर्दै नीतिगत सुधार नभएसम्म पूर्वस्वीकृति, अन्तिम स्वीकृति, श्रमिक पठाउने प्रक्रिया तथा उडानलगायतका सम्पूर्ण प्रक्रिया अघि नबढाउन व्यवसायीलाई आग्रह गरेको छ।
साथै, संघको सामूहिक निर्णयलाई कमजोर पार्ने कुनै पनि गतिविधि नगरी एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण व्यवसायीलाई अपिल गरिएको छ। संघको निर्णयविपरीत प्रक्रिया अघि बढाउँदा उत्पन्न हुन सक्ने अप्रत्याशित अवस्था / दायित्व सम्बन्धित व्यवसायी वा संस्थाले स्वयं लिनुपर्ने विषयमा समेत संघले स्मरण गराएको छ।
संघले श्रमिकको हित, व्यवसायीको सम्मान तथा वैदेशिक रोजगार क्षेत्रको दीर्घकालीन सुधारका लागि व्यवसायी एकताबद्ध भएर अभियानमा साथ दिनुपर्नेमा जोड दिएको छ।
संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) र महासचिव हिराबहादुर डाँगी (हरि)ले संयुक्त रूपमा सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई संघको निर्णय कार्यान्वयन गर्दै अभियानमा साथ दिन अपिल गरेका छन्।



























