काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना सम्पूर्ण इजाजतवाला संस्थाहरूलाई भदौ १ गतेदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गर्न आह्वान गरेको छ।
संघका महासचिव हिरा बहादुर डाँगी (हरि) ले एक सार्वजनिक आह्वान जारी गर्दै संघको निर्णय अनुसार देशभरका मुख्य तथा शाखा कार्यालय बन्द गरी वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण गतिविधि रोक्न आग्रह गरेका छन्।
संघले गत साउन ७ गते सम्पन्न बृहत् व्यवसायी भेलाको म्यान्डेट तथा साउन २२ गते पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको चरणबद्ध संघर्षका कार्यक्रमअनुसार यसअघि पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकि सकेको जनाएको छ। साथै, श्रम स्वीकृति भइसकेका श्रमिकलाई उडानका लागि दिइएको समयसीमा समेत समाप्त भइसकेकाले अब भदौ १ गतेदेखि सम्पूर्ण कारोबार र श्रमिक उडान बन्द गर्नुपर्ने संघले स्पष्ट पारेको छ।
संघले जारी गरेको आह्वानमा यो संघर्ष कुनै व्यक्ति, समूहलाई तत्कालीन लाभ–हानिको विषय नभई वैदेशिक रोजगार व्यवसायीको पेशागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरेको छ।
सरकार, श्रम मन्त्रालय, विभाग तथा सम्बन्धित निकायसँग समस्या समाधानका लागि संवाद, समन्वय र वार्ताका ढोका खुला राख्दै निरन्तर पहल भइरहेको संघले जनाएको छ। तर व्यवसायीका जायज मागहरूको ठोस सम्बोधन, निर्णय तथा कार्यान्वयनको विश्वसनीय आधार नबनेसम्म संघर्ष फिर्ता वा स्थगित नगरिने संघको भनाइ छ।
संघले कुनै पनि इजाजतवाला संस्थाले व्यक्तिगत सुविधा, तत्कालको लाभ वा अन्य कुनै बहानामा संघको निर्णयलाई कमजोर पार्ने गरी काम–कारोबार सञ्चालन नगर्नसमेत स्पष्ट आह्वान गरेको छ।
त्यसैगरी संघको आह्वान र निर्णयको अवज्ञा गर्दै लुकीछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय तथा कारोबार सञ्चालन गर्ने संस्था वा व्यवसायीको सम्बन्धमा संघले आवश्यक अभिलेख राख्ने जनाएको छ। त्यस्ता संस्थालाई भविष्यमा संघबाट आवश्यक सहयोग, संरक्षण तथा संस्थागत साथ नहुने चेतावनी समेत दिएको छ।
संघले संघर्षको अन्त्यमा आयोजना हुने व्यवसायीहरूको बृहत् समीक्षा भेलाबाट आवश्यक निर्णय तथा कारबाहीको प्रक्रिया अघि बढाइने जनाएको छ।
संघले यो संघर्षलाई सामान्य कार्यक्रमका रूपमा नलिई वैदेशिक रोजगार व्यवसाय क्षेत्रको शुद्धीकरण, पेशागत सम्मान र सुरक्षित भविष्य निर्माण गर्ने निर्णायक लडाइँका रूपमा ग्रहण गर्न सम्पूर्ण इजाजतवाला संस्थाहरूलाई आग्रह गरेको छ। संघको निर्णय पूर्ण रूपमा पालना गर्नसमेत महासचिव डाँगीले सबै व्यवसायीलाई अपिल गरेका छन्।


























