काठमाडौं । बाल अधिकार संरक्षण तथा प्रवर्द्धनसँगै गलैंचा उद्योगमा हुने बालश्रम उन्मूलनको क्षेत्रमा तीन दशकदेखि क्रियाशील नेपाल गुड्वीभ फाउन्डेसनको ३१औँ वार्षिक साधारणसभाले किरण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
साधारणसभाबाट उपाध्यक्षमा डा. रूपा मुनाकर्मी र महासचिवमा सन्तोष महर्जन निर्वाचित भएका छन्। यस्तै, रिक्त कार्यसमिति सदस्यमा स्वस्तिका सुवेदी र आशुतोष कार्की निर्वाचित भएका छन्।
बाल अधिकार संरक्षण र गलैंचा कारखानाबाट बालश्रम उन्मूलनलाई आफ्नो प्रमुख अभियान बनाउँदै आएको फाउन्डेसनले स्थापनाकालदेखि नै बालश्रम न्यूनीकरण, बाल अधिकारको संरक्षण तथा बालबालिकाको समग्र हितका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
साधारणसभाको उद्घाटन समारोहमा समाज कल्याण परिषद्का सदस्यसचिव चक्रबहादुर बुढाले राष्ट्रिय विकास र समृद्धिमा योगदान पुर्याउने गरी सामाजिक संघसंस्थाले प्रभावकारी ढंगले काम गर्नुपर्ने बताए। सामाजिक क्षेत्रमा सक्रिय संस्थालाई प्रोत्साहन र निष्क्रिय संस्थालाई नियमनमार्फत बन्द गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिवसमेत रहेका बुढाले सामाजिक संघसंस्थाले आफूले लिएको उद्देश्यअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए। राज्य र सामाजिक संस्थाबीच प्रभावकारी समन्वय भए विकासका गतिविधिलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।
उनले सामाजिक संस्थाले प्राप्त गर्ने स्रोत र साधनलाई पारदर्शी तथा प्रभावकारी रूपमा परिचालन गर्दै लक्षित समुदायमा प्रत्यक्ष परिणाम देखिने गरी काम गर्नुपर्ने बताए। सामाजिक संस्थाको भूमिका राज्यको विकास प्रयासलाई सहयोग गर्ने र सामाजिक समस्याको समाधानमा सहकार्य गर्ने हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले बालश्रम उन्मूलनका क्षेत्रमा नेपाल गुड्वीभ फाउन्डेसनले लामो समयदेखि गर्दै आएको कामको प्रशंसा गरे। बालश्रम अन्त्यका लागि सरकारी निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा समुदायबीच सहकार्य आवश्यक रहेको उनले बताए।
फाउन्डेसनका महासचिव तथा नवनिर्वाचित अध्यक्ष किरण थापाले संस्थाको स्थापना, विकासक्रम तथा पछिल्लो समय सञ्चालन गरिएका गतिविधिबारे जानकारी दिए। उनले गुड्वीभ आफ्नो लक्ष्यबाट विचलित नभई बाल अधिकार संरक्षण तथा बालश्रम उन्मूलनको अभियानलाई निरन्तरता दिने बताए।
उनले बालश्रमको समस्या केवल श्रमस्थलबाट बालबालिकालाई हटाएर मात्रै समाधान नहुने भन्दै शिक्षा, परिवारको आर्थिक अवस्था, सामाजिक चेतना र बाल अधिकारसँग जोडिएका विषयलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने बताए। बालबालिकालाई सुरक्षित वातावरणमा शिक्षा र विकासको अवसर सुनिश्चित गर्नु संस्थाको प्राथमिकता रहेको उनको भनाइ थियो।
फाउन्डेसनका कार्यवाहक अध्यक्ष बलराम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं विश्वविद्यालयकी प्राध्यापक डा. रूपा मुनाकर्मी, राष्ट्रिय कार्य समन्वय समूह नेपालका नरेन्द्र डंगोललगायतले बालबालिकाको अधिकार संरक्षण तथा बालश्रम उन्मूलनको क्षेत्रमा गुड्वीभले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
वक्ताहरूले बालश्रम उन्मूलनका लागि विगतमा भएका प्रयासलाई निरन्तरता दिँदै बदलिँदो सामाजिक तथा आर्थिक परिस्थितिअनुसार नयाँ रणनीति र कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका थिए।
३१औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी कार्यदिशा, बाल अधिकार संरक्षण तथा बालश्रम उन्मूलनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।



























