काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यका लागि एभरेस्ट बैंक लिमिटेडले ३ करोड ११ लाख रुपैयाँ भन्दा बढी सहयोग तथा राहत सामग्री प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा गरी कुल ३ करोड ११ लाख ५४ हजार ६ सय ५ रुपैयाँ ३८ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बैंकले आर्थिक सहयोगसँगै आफ्ना कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीसमेत सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ । ती सामग्री विपद् प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैंकले विपद्का बेला अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, विभिन्न संघसंस्था तथा सहयोगी हातहरूप्रति आभारसमेत व्यक्त गरेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त सहयोग उपलब्ध गराएको हो ।



























