काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रभु बैंक लिमिटेडले २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बैंकले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा.अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति थियो ।
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिले गहिरो पीडा र शोक निम्त्याएको उल्लेख गर्दै बैंकले प्रभावित परिवार तथा समुदायप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । विपद्को समयमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सामूहिक सहकार्यले राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।
प्रभावित समुदायलाई सामान्य अवस्थामा फर्काउन राहत, पुन ः स्थापना तथा पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धतासमेत बैंकले गर्ने जनाएको छ ।


























