काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपहिरोसहित देशका विभिन्न स्थानमा आएको विपद्का कारण अरनिको यातायात प्राली अन्तर्गत सञ्चालन हुने विभिन्न सवारीसाधनमा ठूलो क्षति पुगेको छ। विपद्का कारण यातायात व्यवसायमा ठूलो आर्थिक क्षति पुगे पनि क्षतिग्रस्त सवारीसाधनको बीमा दाबीमार्फत क्षतिपूर्ति दिलाउने प्रक्रिया अघि बढाइएको बताइएको छ।
नेपाल अरनिको यातायात प्रालि का पूर्व अध्यक्ष केदार क्षेत्रीका अनुसार सवारीसाधनमा भएको क्षतिको विषयमा बीमा कम्पनीसँग आफूले निरन्तर संवाद गरिरहेका छन्। व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरे पनि बीमा कम्पनीबाट दाबीअनुसारको क्षतिपूर्ति प्राप्त हुने व्यवस्था रहेको उनले बताए।
क्षेत्रीका अनुसार मानवीय क्षतितर्फ भने चालक तथा परिचालकका लागि यसअघि नै बीमाको व्यवस्था गरिएको छ। अरनिको यातायातअन्तर्गत सञ्चालन हुने सवारीसाधनमा कार्यरत चालक तथा परिचालकका लागि १० लाख रुपैयाँको बीमा गरिएको उनले जानकारी दिए।
“चालक–परिचालकको बीमा व्यवस्था हामीले पहिल्यै गरेका छौँ। अरनिको यातायातका सवारीसाधनमा कार्यरत चालक–परिचालकलाई परेको मानवीय क्षतिको अवस्थामा उनीहरूका परिवारले १० लाख रुपैयाँसम्मको बीमा क्षतिपूर्ति पाउने व्यवस्था छ,” क्षेत्रीले भने।
बीमा रकम प्राप्त गर्न केही समय लाग्न सक्ने भए पनि पीडित परिवारले आवश्यक प्रक्रिया पूरा गरेपछि बीमाअनुसारको क्षतिपूर्ति पाउने उनले बताए। सवारीसाधनका धनीले पनि बीमा प्रक्रियामार्फत क्षतिपूर्ति पाउने र अरनिको यातायातमा कार्यरत चालक तथा परिचालकको मृत्यु भएमा उनीहरूका बालबालिकाको पठनपाठनमा सहयोग गरिने उनले जानकारी दिए।
रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपहिरो, सिन्धुपाल्चोक, दोलखासहित देशका विभिन्न क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति क्षेत्रीले दुःख व्यक्त गरेका छन्।
सिन्धुपाल्चोक, दोलखा र रसुवाका धेरै नागरिक यातायात क्षेत्रमा आबद्ध रहेको उल्लेख गर्दै उनले विपद्का कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे।
सरकारले बाढीपहिरोबाट प्रभावित तथा मृतक परिवारलाई तत्काल राहतस्वरूप ५० हजार रुपैयाँ दिने घोषणा गरेको विषयमा क्षेत्रीले उक्त रकम यातायात व्यवसायीका लागि नभई प्रभावित तथा मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले दिइने बताए।
उनका अनुसार विपद्का कारण ज्यान गुमाएका चालक तथा परिचालकका परिवारलाई तत्कालीन खर्च व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले नेपाल अरनिको यातायात प्राली ले यस्तो राहतको व्यवस्था गरेको हो।
“५० हजार रुपैयाँ तत्कालको राहतका लागि हो। काठमाडौं आउनुपर्ने, जानुपर्ने, बस्नुपर्ने, खानुपर्ने लगायतका तत्कालीन खर्च व्यवस्थापन गर्न संस्थाले दिने राहत हो,” उनले भने।
दीर्घकालीन क्षतिपूर्ति र बीमाको रकम भने छुट्टै प्रक्रियाबाट प्राप्त हुने भएकाले तत्कालीन राहतलाई त्यसको विकल्पका रूपमा बुझ्न नहुने क्षेत्रीको भनाइ छ।
विपद्का बेला यातायात व्यवसायी, चालक–परिचालक तथा उनीहरूका परिवारको सुरक्षाका लागि दीर्घकालीन व्यवस्था आवश्यक रहेको भन्दै क्षेत्रीले भविष्यमा रसुवाको भोटेकोसी, सिन्धुपाल्चोक, दोलखालगायतका क्षेत्रमा हुन सक्ने बाढीपहिरोजस्ता विपद्ब बाट पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्न बीमा तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।


























