काठमाडौं । रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि नेपाल शेर्पा संघले स्थापना गरेको आपतकालीन राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।
यसैक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जीवछिरिङ लामाले राहत कोषमा रु. ५ लाख आर्थिक सहयोग गरेका छन्।
बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा विभिन्न व्यक्ति, संघसंस्था तथा सामाजिक अभियन्ताहरूबाट सहयोग आउने क्रम जारी रहेको नेपाल शेर्पा संघले जनाएको छ।
नेपाल शेर्पा संघले विपद्को यस घडीमा प्रभावित परिवारलाई सहयोग पुर्याउन इच्छुक व्यक्ति तथा संस्थालाई राहत कोषमा सक्दो सहयोग गर्न आग्रह गरेको छ। सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने गरिने संघले जनाएको छ।


























