काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेस)ले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँग निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन् ।
४७औँ विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले पर्यटन विकासलाई एउटै मन्त्रालयको प्रयासबाट मात्र अघि बढाउन नसकिने बताए ।
उनले पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रको विकासका लागि आफूले अन्तरमन्त्रालय समन्वयमा निरन्तर जोड दिँदै आएको बताए ।
मन्त्री पौडेलले पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी संस्थाको क्षमता अभिवृद्धि गर्ने सरकारको योजना रहेको जानकारी दिँदै बदलिँदो पर्यटन परिवेशअनुसार संस्थागत क्षमता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
नेपालको मौलिक संस्कृति, परम्परा, जात्रा तथा पर्व पर्यटनका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले पुस्तौँदेखि चलिआएका जीवन्त सामुदायिक जात्रा तथा सांस्कृतिक गतिविधिको संरक्षण र प्रवर्द्धनलाई पर्यटन विकाससँग जोड्नुपर्ने बताए ।
उनले हिमालयलाई नेपालको मात्र नभई समग्र क्षेत्रकै महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा व्याख्या गर्दै हिमालबाट उत्पन्न नदीहरूले यस क्षेत्रका करोडौँ मानिसको जीवनयापनमा योगदान पुर्याइरहेको बताए । हिमाली सम्पदाको संरक्षणसँगै त्यसको दिगो पर्यटन उपयोगमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
पर्यटनसम्बन्धी विद्यमान कानुन तथा नियमावलीमा देखिएका कमी–कमजोरी सुधारका लागि निजी क्षेत्रबाट प्राप्त सुझाव र प्रतिक्रिया महत्वपूर्ण हुने मन्त्री पौडेलले बताए । पर्यटन व्यवसाय सञ्चालनको वास्तविक अनुभव निजी क्षेत्रसँग रहेकाले नीति तथा कानुनी सुधारका क्रममा निजी क्षेत्रका सुझावलाई समेटेर अघि बढ्ने सरकार प्रतिबद्ध रहेको उनले बताए ।
पर्यटनमा एआई र डिजिटल प्रविधिको प्रयोगमा जोड
कार्यक्रममा यस वर्षको विश्व पर्यटन दिवसको अन्तर्राष्ट्रिय नाराका रूपमा प्रस्तुत ‘डिजिटल एजेन्डा एन्ड एआई टु रिडिजाइन टुरिज्म’ लाई केन्द्रमा राख्दै नेपालको पर्यटनमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो भूमिकाबारे चर्चा गरिएको थियो ।
नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष पन्तले हालैको भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रले पाएको क्षतिलाई आगामी दिनको पर्यटन योजना र डिजिटल प्रविधिको प्रयोगसँग जोड्नुपर्ने बताए ।
उनले भोटेकोशी बाढीका कारण लाङटाङ जाने नियमित पहुँचमार्ग तथा आवास सुविधामा क्षति पुगेपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्दै सुरक्षित पूर्वाधार, समयमै सूचना, वैकल्पिक पहुँचमार्ग र प्रभावकारी विपद् तयारी अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको बताए ।
नेपालको भौगोलिक बनोट र आवश्यक समयमा स्रोत–साधनको सीमितताका कारण तत्कालै अत्यन्त द्रुत र भरपर्दो भौतिक पूर्वाधार निर्माण गर्न कठिन हुने भन्दै पन्तले जोखिम न्यूनीकरणमा डिजिटल प्रविधि प्रभावकारी माध्यम बन्न सक्ने बताए ।
डिजिटल प्रणालीमार्फत पर्यटकको यात्रासम्बन्धी सूचना अद्यावधिक राख्ने, जोखिमको पूर्वसूचना दिने तथा आपत्कालीन अवस्थामा सम्बन्धित निकायबीच समन्वय सहज बनाउन सकिने उनको भनाइ थियो ।
पन्तले डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्यको सही र समयसापेक्ष प्रवर्द्धन गर्न तथा सम्भावित पर्यटकलाई उनीहरूको आवश्यकताअनुसार भरपर्दो सूचना उपलब्ध गराउनुपर्नेमा समेत जोड दिए । उनका अनुसार पर्यटकले यात्रा योजना बनाउन सुरु गरेको चरणदेखि गन्तव्यसम्म आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउनु पर्यटन प्रवर्द्धनको महत्वपूर्ण पक्ष हो ।
कार्यक्रमका मुख्य वक्ता पाटा फाउन्डेसनका अध्यक्ष एन्ड्रयु जोन्सले नेपालको भौगोलिक तथा सांस्कृतिक विविधताको चर्चा गर्दै भोटेकोशी बाढीपछि नेपालको पर्यटन पुनरुत्थानमा पाटा फाउन्डेसनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनमा एआई तथा डिजिटल मिडियाको भूमिका थप महत्वपूर्ण बन्दै गएको बताए । बाढीबाट प्रभावित पर्यटन क्षेत्रका श्रमिक, गाइड, चालक, पोर्टर तथा पर्यटन व्यवसायलाई सहयोग गर्ने उद्देश्यले नेपाल पर्यटन पुनरुत्थान कोष सञ्चालनमा रहेको जानकारी पनि उनले दिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सञ्जय आचार्य तथा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य अनुष्का श्रेष्ठ, डा. अर्जुनकुमार कार्की र मिङ्मा ग्याबु शेर्पाले पर्यटनमा प्रविधिको प्रयोग, रोजगारी संरक्षण, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुदृढीकरण तथा पर्यटकलाई प्रमाणित र विश्वसनीय सूचना उपलब्ध गराउने विषयमा धारणा राखेका थिए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदाससमेत कार्यक्रममा उपस्थित थिइन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डले नेपालको गन्तव्य प्रवर्द्धनका लागि तयार पारेको नयाँ प्रचारात्मक श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको थियो ।
यसै अवसरमा भिटोफ–नेपालले तीनवटा गाउँलाई ‘वर्ष गन्तव्य गाउँ’ घोषणा गरेको थियो । घोषित गाउँका प्रतिनिधिलाई मन्त्री पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए । ग्रामीण पर्यटन, स्थानीय संस्कृति र समुदायलाई पर्यटनको मूल प्रवाहसँग जोड्ने उद्देश्यले उक्त पहल गरिएको बोर्डले जनाएको छ ।
विश्व पर्यटन दिवस हरेक वर्ष सेप्टेम्बर २७ मा मनाइन्छ । यस वर्षको दिवसले पर्यटनमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सेवा प्रवाह, सूचना, प्रवर्द्धन, पर्यटन व्यवस्थापन तथा पुनरुत्थानलाई प्रभावकारी बनाउने विषयलाई केन्द्रमा राखेको छ ।




























